राष्ट्रपति निर्वाचन: उम्मेदवारी दर्ता भोलि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म

16.5k Shares

काठमाडौं, फागुन १२। राष्ट्रपति निर्वाचनका भोलि (शनिबार) उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ।

निर्वाचन आयोगले प्रकाशित गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म दिइएको छ।

तर दलहरूले अहिलेसम्म उम्मेदवार तय गरिसकेका छैनन्। उम्मेदवार तय गर्न छलफलमा दलहरू व्यस्त छन्। नेपाली कांग्रेस र नेकपा एमालेले शनिबार बिहान राष्ट्रपति उम्मेदवार तय गर्न बैठक राखेका छन्।

आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत कार्यालय खोलिसकेको छ। आयोगले शनिबार अपराह्न ३ बजेदेखि ४ बजे भित्रमा मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशित गर्नेछ। 

फागुन १४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उम्मेदवारले नाम फिर्ता लिन चाहे फागुन १६ गते पाउनेछन्। उम्मेदवारको अन्तिम नामावली पनि फागुन १६ गते नै प्रकाशित गर्ने तयारी छ। राष्ट्रपति निर्वाचन भने फागुन २५ गते हुनेछ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरू राष्ट्रपति निर्वाचनमा मतदाता हुन्छन्। मतदान भने नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालय परिसरमा हुनेछ। त्यहाँ २ वटा मतदान केन्द्र रहनेछ।

सम्बन्धित समाचार