काठमाडौ । प्रहरी प्रशासनकाे संरक्षण र सेटिङ भए पछि गैरकानुनी कार्य गर्न कति सहज हुन्छ भन्ने कुरा अहिले साेल्टी हाेटल स्थित माजाेङ क्यासिनोकाे घटनाले पुष्टि गरेको छ । एकातर्फ उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका रबि लामिछाने नागरिकता काण्डमा परेर उनको बहिर्गमन हुनु अनि अर्कोतर्फ नयाँ गृहमन्त्री नियुक्ति नभएको अवस्थामा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको हैसियतमा सबै कार्य हेर्न भ्याउने अवस्था नभएकोले पनि उपत्यकाका प्रहरी कार्यालयहरूमा खुलेयाम असुलीमा धन्दाहरू चलिरहेका छन् । कार्यालय प्रमुखले परिचालन गरेका घुमुवाहरूले खुलेयाम रकम असुली गरिरहेका घटना सार्वजनिक भएका छन् भने मुद्दामा घुष नखुवाई कुनै काम नै नहुने गरेको तथ्यहरू पनि सार्वजनिक भएका छन् । नेपाल प्रहरीको नेतृत्व मात्रै हाेइन उपत्यकाको नेतृत्व गर्ने प्रहरी उच्च अधिकारीकाे अवकाशकाे दिन नजिकिदै छ। उनीहरू आगामी चैत ११ गते अनिवार्य अवकाशमा जादैछन् ।
यो अवस्थामा काठमाडौंका केही क्यासिनोमा प्रहरी सेटिङ र संरक्षणमा खुलेयाम नेपालीहरू प्रवेश गर्ने गरेको तथ्य बाहिर आएको छ। माजाेङ क्यासिनोमा पछिल्लो दुई महिना यता खुलेयाम नेपालीहरू प्रवेश गरि जुवा खेल्ने गरेको तथ्य बाहिरिएको हो । कालिमाटी प्रहरी वृत्त र काठमाडौ प्रहरी परिसरको यसअघिको नेतृत्वकाे संरक्षणमा माजाेङमा नेपाली जुवाडेहरू खुलेयाम प्रवेश गर्ने गरेको क्यासिनोकै कर्मचारीहरू बताउँछन् ।अहिले यस क्यासिनोमा तपाईं जुवा खेल्न जानुभयो र खेल्दा हार्नुभयाे भने तपाईंलाई त्यहीँ चर्को व्याजमा रकम दिने मिटर व्याजीहरू तयार भएर बसेका हुन्छन् केवल तपाईंले लिखितम कागजमा सहीछाप लगाउनुपर्याे ।
यसैक्रममा गत मंगलबार माजाेङ क्यासिनोमा दुई गुण्डा समुह बीच हानाहान समेत भएको छ। सिफल ग्रुप र काभ्रेली ग्रुपका बीच हानाहान मात्रै भएनकि कुर्सी उचालेर हानाहान समेत भयो । हानाहानलाई साम्य पार्न बाउन्सरहरूलाई हम्मे हम्मेहम्मे परेको थियो । क्यासिनोमा कार्यरत एक कर्मचारीका अनुसार अहिले माजाेङमा जुवा खेल्न आउनेहरू मध्ये असी प्रतिशत नेपाली नै रहेका छन् । सबै प्रहरी प्रशासन मिलाउने काम सेक्युरिटी मेनेजर रहेका पूर्व प्रहरी अधिकृत भाेजदेव खतिवडाले गर्दै आइरहेका छन् ।
बिश्व पाेखरेल काठमाडौ प्रहरी परिसरको एसएसपी हुदा माजाेङ क्यासिनोमा नेपालीलाई खुलेयाम प्रवेश गराई जुवा खेलाएकाेमा छापा मारी क्यासिनो संचालक बिनाेद श्रेष्ठ सहित आठ जनालाई पक्राउ गरेका थिए । चाैतर्फी दबाब भए पनि पाेखरेलले नछाेडी कारबाही गरेका थिए । महानगरीय प्रहरी परिसरको टोलीले जुवा खेल्ने र खेलाउने कार्यरमा संलग्नहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा क्यासिनो सञ्चालक ४५ वर्षीय विनोद श्रेष्ठ र ओम कर्माचार्य रहेका थिए । श्रेष्ठ क्यासिनोका म्यानेजिङ डाइरेक्टर हुन् भने कर्माचार्य कार्यकारी अधिकृत हुन् ।त्यसैगरी, जुवा खेलमा संलग्न मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शिखर पौडेल, काठमाडौंका तेन्जिङ मेलेकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले क्यासिनोमा जुवा खेलिरहेकै अवस्थामा समातिएका रञ्जित खड्गी, अरुण सेडाई र पासाङ ठकुरीलाई पनि नियन्त्रणमा लिइएको थियो ।