काठमाडौं/केटिएम बाइकको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले केटीए २५० एड्भेन्चर नयाँ भेरियन्टको मूल्य ७० हजार रुपैयाँले घटाएको छ।
गोल्छा अर्गनाइजेसनका निर्देशक अभिमन्यू गोल्छाका अनुसार उत्पादक कम्पनीको सहकार्यमा नेपालमा यो सेगमेन्टको केटिएम बाइक धेरै बिक्री हुने भएकाले मूल्य घटाइएको हो।
‘हामीले उत्पादक कम्पनीसँगको सहकार्यमा यो मूल्य घटाउने निर्णय गरेका हौं,’ उनले भने, ‘उत्पादक कम्पनीले नेपाली बजारलाई अझ राम्रोसँग विस्तार गर्न यसले सहयोग मिल्ने बताएको छ। उत्पादक कम्पनीले यसको नेपालमा राम्रो मार्केट देखेको छ।’
केटिएमको यो एड्भेन्चर बाइक नेपाली बजारमा धेरै रुचाइएको गोल्छाले बताए। त्यसैले ग्राहकहरुलाई मूल्य घटाएर केही राहत दिन खोजेको उनको भनाइ छ।
‘हामीले केटिएमको बजारलाई एग्रेसिभ रुपमा अगाडि बढाउन खोजिरहेका छौं,’ उनले भने, ‘हाम्रो कम्पनीले केटिएम २५० एड्भेन्चर मासिक रुपमा ५० युनिट बिक्री गर्ने गरी योजना बनाएको छ।’
नेपालमा अफरोड राइडरहरुका लागि केटीएम २५० एड्भेन्चर बेस्ट बाइक रहेको गोल्छाले बताए। उनका अनुसार यो नयाँ भेरियन्टको नेपालमा बुकिङ र बिक्री बिहिबारदेखि सुरु गरिएको छ।