काठमाडौं/नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मागत कटवालको स्वास्थ्यमा गम्भीर समस्या आएको छ । उनका दुवै मृगौलाले काम गर्न छोडेपछि डाइलसिस गराउँदै आएका कटवालको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि हाल उनलाई छाउनीस्थित सैनिक अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ ।
कटवाललाई एक हप्तादेखि नै आइसीयुमा राखेर उपचार गरिँदै आएको भए पनि यो समाचार कसैले खुलाएको थिएन । छाउनी अस्पताल श्रोतका अनुसार हप्ताको दुई दिन डाइलसिस गराउँदै आएका कटवाललाई पल्मनेरि ह्यामरेज भएपछि चिकित्सकको सल्लाहमा आइसीयूमा राखिएको हो ।
२०६३ सालको भदौ २४ गतेदेखि नेपाली सेनाको नेतृत्व सम्हालेका कटवाललाई २०६६ सालको बैशाख २० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बर्खास्त गरेको थियो । प्रचण्ड नेतृत्वको सरकाले उनलाई सरकारको निर्णय कार्यान्वयन गर्न अवज्ञा गरेको भन्दै कारबाही गरेको हो ।