काठमाडौँ/आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी निहारिका राजपूतले अन्ततः शिवराज श्रेष्ठलाई आफ्नो पति भन्दै मिलापत्र गरेकी छिन् । सोमबार धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै निहारिकाले मिलापत्र गरेकी हुन् ।
आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । तर धनुषा जिल्ला अदालतले शिवराज र सोनालीबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।
धनुषा जिल्ला अदालतले शिवराजलाई बलात्कारको कसुरमा सफाइ दिएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । सोही समयमा उनले आन्दोलनसमेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् । तर गत माघ १५ गते आइतबार मात्रै निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठविरुद्ध अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन् ।