चीनमा फेरि देखियो अर्काे नयाँ संक्रमण, सयौं मानिस बिरामी

17.4k Shares

८ असोज, काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट यतिबेला विश्व आतंकित छ । यहीबीच चीनमै फेरि अर्काे नयाँ संक्रमण देखापरेको छ ।
चीनको उत्तर पश्चिमी इलाकास्थित गान्सु प्रान्तको लानजोउ सहरमा एक नयाँ संक्रमणबाट सयौं मानिस बिरामी परेको चीनको सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ ।
उक्त अखबारका अनुसार यो संक्रमण ब्रुसेलोसिस ब्याक्टेरियाबाट भएको हो । गान्सु प्रान्तको सेन्टर फर डिजिज कन्ट्रोल विभागले यो ब्याक्टेरियाबाट ३ हजार २ सय ४५ जना संक्रमित भइसकेको जानकारी दिएको छ ।
अघिल्लो सोमबार २१ हजारभन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्दा सुरुमा ४ हजार ६ सय ४६ व्यक्तिको रिपोर्ट पोजिटिभ आएको थियो । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । यो फैलिने डरले प्रशासन र सर्वसाधारण चिन्तामा परेका छन् । ग्लोबल टाइम्सका अनुसार ११ सरकारी संस्थालाई यसको निःशुल्क परीक्षण र उपचारका लागि भनिएको छ ।
ब्रुसेलोसिस ब्याक्टेरियाले विशेषगरी गाई, भेडा, बाख्रा, सुँगुर र कुकुरलाई संक्रमण गर्छ। अनि संक्रमित जनावरको सम्पर्कमा पुगेपछि मानिसमा पनि सर्ने सम्भावना हुन्छ । यस्तै संक्रमित पशुको मासु, दूध खाँदा पनि यो ब्याक्टेरिया सर्छ भने हावाबाट समेत मानिसको श्वासप्रश्वासमा प्रवेश गरी फैलिन सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार धेरैजसो यो रोग जनावरको दूध वा पनिरको सेवनले मानिसमा सरिररहेको छ । तर मानिस–मानिसबीच संक्रमण फैलिने सम्भावना निकै कम छ । यो रोग संसारका अन्य देशमा पनि देखिएको जानकारी आइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यसको उपचार भने सम्भव छ । औषधिको सिलसिला एक–डेढ महिनासम्म चल्न सक्छ ।
ज्वरो आउनु, पसिना निस्कनु, थकाई लाग्नु, भोक नलाग्नु, टाउनको दुख्नु, तौल घट्नु र मांसपेशीमा दुख्नु यो रोगका मुख्य लक्षण हुन् । रोगको लक्षण देखिन एक हप्तादेखि २ महिनासम्म लाग्न सक्छ । तर धेरैजसो २ देखि ४ हप्ताबीच यसका लक्षण देखिन्छन् ।
कुनै लक्षण लामो समयसम्म रहिरहन सक्छ भने कसैमा यो थोरै समयका लागि देखिन्छ । जस्तो ः पटक–पटक ज्वरो आउनु, जोर्नी दुख्नु, अण्डकोष सुन्निनु, मुटु वा कलेजो सुन्निनु, थकान, डिप्रेसन आदि ।
गत वर्ष जुलाई–अगस्टमा खोप बनाउने एक कारखानामा भएको चुहावटपछि यो ब्याक्टेरिया फैलिएको हो । यो ब्याक्टेरियाबाट हुने संक्रमणको उपचारका लागि बन्ने ब्रुसिला खोपको उत्पादनमा एक्सपायर भइसकेका किटाणुनाशकको प्रयोग गरिएको थियो, जसका कारण ब्याक्टेरियाबाट संक्रमित एरोसोल्स हावामा फैलिएको थियो । त्यसपछि यो हावामार्फत् मानिसमा संक्रमण फैलियो । 
लानजोउ हेल्थ कमिसनलाई उद्धृत गर्दै न्युज एजेन्सी एनएनआईले यो रोग फैलिएको एक महिनापछि प्रान्तीय र म्युनिसिपल अधिकारीले चुहावटबारे अनुसन्धान सुरु गरे र जनवरीसम्म यो कारखानाको खोप उत्पादनको लाइसेन्स रद्द गरियो । एएनआईका अनुसार कारखानाले फेब्रुअरीमा सार्वजनिक रूपमा माफी माग्यो र यो घटनामा जिम्मेवार ८ व्यक्तिलाई कडा सजाय दिएको जानकारी दियो । एजेन्सी

सम्बन्धित समाचार