असफल बालेन, उठेन लक्ष्यको आधा पनि राजस्व

14.1k Shares

काठमाडौं । चर्चित मेयर बालेन्द्र साह (बालेन)को नेतृत्वमा रहेको काठमाडौं महानगरपालिकाले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न नसकेको देखिएको छ । महानगरले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा लक्ष्यको ४३ प्रतिशत मात्रै राजस्व संकलन भएको हो ।  

महानगरपालिकाले चालू आर्थिक वर्षको साउनेदेखि पुष मसान्तसम्ममा चार अर्ब ५६ करोड ६२ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको ४३.८२ प्रतिशत मात्रै हो । यो आर्थिक वर्षमा महानगरले १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।  

चालू आर्थिक वर्षको ६ महिना पुरा भइसकेको छ । राजस्व संकलनको हिसावले यो ६ महिना निकै महत्वपूर्ण मानिन्छ । सामान्य हिसाबले पनि यो ६ महिना भित्र लक्ष्यको ५० प्रतिशत राजस्व संकलन भइसक्नु पर्ने हो । तर, त्यसो भएको देखिदैन ।  

त्यसो त घरबहाल कर लगायतका कतिपय करहरु आर्थिक वर्षको अन्त्यतिर संकलन हुने गरेको देखिन्छ । सो आधारमा हेर्दा कतिपय क्षेत्रमा अपेक्षा भन्दा बढी कर उठ्न सक्छ भने धेरै शिर्षकहरुमा पहिलो ६ महिनामा नै कर उठिसक्नु पर्ने हो । तर, त्यसो भएको देखिदैन । 

काठमाडौं महानगरपालिकाको राजस्व विभागका विभागिय प्रमुख डा। शिवराज अधिकारीका अनुसार यस अवधिमा महानगरले सबैभन्दा बढी मनोरञ्जन कर उठाएको छ । मनोरञ्जन कर बापत महानगरले ९० लाख ८२ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको १८१.६५ प्रतिशतले बढी हो । ६ महिनामा नै यस शिर्षकमा वार्षिक लक्ष्य भन्दा धेरै नै बढी राजस्व संकलन भइसकेको छ ।  जसका आधारमा के अनुमान गर्न सकिन्छ भने महानगरले राजस्व संकलनको अनुमानित लक्ष्य नै तथ्यपरक ढंगले गर्न सकेको थिएन । यस आवमा महानगरले मनोरञ्जन शिर्षकमा ५० लाख रुपैयाँ मात्रै राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । 

त्यस्तै, महानगरले पुष मसान्तसम्म पार्किङ शुल्क वापत ७५ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने नाता प्रमाणित दस्तुर वापत २२ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसका साथै भूमिगत मालपोत वापत महानगरले ८३ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने सम्पत्ति, बहाल तथा पट्टा वापतको आयमा लाग्ने करवापत सात कराड १८ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।  

सम्बन्धित समाचार