८ असोज, ललितपुर । कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि स्वाब संकलन नगरिकन नेगेटिभ रिपोर्ट आएको जानकारी पाएपछि रामहरि कार्की आश्चर्यमा परेका छन् । घटना ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटोको हो । टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा असोज २ गते शुक्रबार पुगेका कार्कीको असोज ४ गते आइतबार रिपोर्ट आयो ।
शुक्रबार बिहान ११ बजेतिर अस्पताल पुगेका उनले खोकी तथा घाँटीमा अप्ठेरो भएको कारण ३० रुपैयाँमा टिकट लिएर डाक्टरलाई भेटेका बताए । डाक्टरले उनलाई कोरोना परीक्षण गर्न सुझाए । त्यसपछि उनले स्वाब संकलनको लागि भिटिएम (किट) लिए । तर अचानक महत्वपूर्ण फोन आएकाले बाहिर निस्किनु पर्ने भयो । उनी स्वाब नदिइ बाहिरिए । उनी फर्केर अस्पताल जाँदा स्वाबको नमुना दिने ठाउँ बन्द भइसकेको उनले बताए ।
‘आइतबार पुनः अस्पताल जाने तयारीमा थिए, कोरोना नेगेटिभ भन्ने एसएमएस पो आयो’, उनले भने, ‘म त आश्चर्यमा परेको छु । स्वाबै नदिइ कुन आधारमा रिपोर्ट पठाइयो ?’ यसलाई अस्पतालको गम्भीर लापरबाहीे भएको उनको भनाइ छ ।’ अस्पतालबाट फोन आउला, खोजी गर्ला जस्तो लागेको थियो । तर एकैचोटी रिपोर्ट पठायो ।’
उक्त दिन स्वाब नदिएपछि कम्तिमा स्थगन लिस्टमा आफ्नो नाम आउँला भन्ने लागेको उनले बताए । एसएमएसमा गल्ती आयो की भनेर उनी बुधबार हस्पिटलमा गएर रिपोर्ट माग्दा रिपोर्ट पनि नेगेटिभ आएको छ भनी अस्पतालको रिपोर्ट प्रिन्ट गरेर दिएको उनको भनाई छ ।
तर स्वास्थ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कहिलेकाही प्रिन्टिङ र टाइपिङ मिस्टेक भएको हुन सक्ने जानकारी दिए । उक्त नमुनाका प्रमाण आफूलाई पठाइदिन आग्रह गर्दै उनले भने, ’के भएको रहेछ, चाडै पत्ता लगाउँछौं, सिस्टमबाट खोजौंला ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले आफूले पनि स्वाब नदिइकन रिपोर्ट नेगेटिभ आएको थाहा पाएको, के कति कारणले आएको हो यसबारे गम्भिर भएर बुझ्ने बताए ।
‘मैले यसबारे टेकु अस्पताललाई जानकारी गराएको थिए ।’ कार्कीले भने, ‘अस्पतालले भने अनुसार फेरि सोही किटमा स्वाब दिएको छु, हेरौं रिपोर्ट के आउँछ ।’