इन्स्पेक्टर पनेरुविरुद्ध पीडितद्वारा उजुरी हाल्ने तयारी
काठमाडौं । इन्स्पेक्टर पनेरुद्वारा हिरासतमै अभियुक्तको रामधुलाई शिर्षकमा पुष १३ गते बुधबार खोजतलासमा समाचार प्रकाशित भएपछि फेरि हिरासतमा रहेका अभियुक्तलाई इन्स्पेक्टर पनेरुको टिमले बुधबार बेलुकी सांघातिक आक्रमण गरी रामधुलाई गरेको पीडितका आफन्तले बताएका छन् ।
इन्स्पेक्टर पनेरुले अभियुक्तलाई रामधुलाई गरेको समाचार प्रकाशित भएपछि म्याद थप गरी महानगरीय प्रहरी वृत्त बानेश्वरमा हिरासतमा राखेका अभियुक्तलाई मेरो बारेमा तिमीहरुले समाचार प्रकाशित गराउने भन्दै बिहीबार बेलुकी नराम्ररी कुटपिट गरेको पीडितले बताएका छन् ।
कोटेश्वर प्रहरी प्रभागले कोटेश्वरमा संचालित जोन गेष्ट हाउसकी संचालिका उर्मिला पौडेलको जाहेरीमा ज्ञानु लामा, कुमार भण्डारीलगायतलाई पक्राउ गरी म्याद थप गर्नुभन्दा अगाडि हिरासतमै इन्स्पेक्टर पनेरुले कुटपिट गरी घाइते बताएका थिए ।
बिहीबार उनीहरुलाई म्याद थप गरी महानगरीय प्रहरी परिसर बानेश्वरको हिरासतमा राखिएको अवस्थामा पनेरुले हिरासतमै कुटपिट गरेको समाचार प्रकाशित भएपछि इन्स्पेक्टरका पाँच जनाको टोलीसहित बानेश्वर प्रहरीमा गई हिरासतमा रहेका लामा, भण्डारीलगायतकालाई नराम्ररी कुटपिट गरेको पीडितले बताएका छन् ।
हिरासतमा रहेका अभियुक्तलाई प्रहरीले कुटपिट, मानसिक तनाव दिन नपाइने गैरकानुनी काम कारबाही गरेको पुष्टि भए कानुन अनुसार कारबाही गरिने प्रावधान हुँदो हुँदै अभियुक्तलाई कुटपिटका साथै मानसिक तनाव दिन नपाइने कानुनी प्रावधान छ । हिरासतमा रहेका व्यक्ति अनुसन्धानको घेरामा रहने भएका कारण उनीहरुलाई मानसिक तनाव र कुटपिट गरेको खण्डमा मानवअधिकार उल्लंघन गरेको आरोपमा इन्स्पेक्टर पनेरुलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ ।
पीडितहरुले अभियुक्तहरुलाई कुटपिट र मानसिक तनाव दिई मानवअधिकार उल्लंघन गरेको आरोपमा उजुरी दिने तयारीमा रहेको पीडितका परिवारले खोजतलासलाई जानकारी गराएका छन् ।
कोटेश्वरस्थित जोन गेष्ट हाउसकी संचालिका उर्मिला पौडेलको उजुरीमा पक्राउ परेका लामा र भण्डारीलाई इन्स्पेक्टर पनेरुले अब कांग्रेसका दिन गए भन्दै कुटपिट गरी घाइते बनाएको पीडितका आफन्तले बताएका छन् । इन्स्पेक्टर पनेरु विगतमा केपी शर्मा ओलीको पिएसओ बसेको समेत स्रोतले दावी गरेको छ ।
गेष्ट हाउस संचालिका उर्मिला पौडेलले भाडामा अर्कै पार्टीलाई गेष्ट हाउस संचालन गर्न दिए पनि सो पार्टीले गेष्ट हाउसको भाडा नदिएपछि भाडा उठेको केही प्रतिशत दिने सर्तमा भाडा उठाई दिने वा त्यहाँबाट भगाउने सर्तमा ज्ञानु लामा र कुमार भण्डारीलाई पौडेलले आग्रह गरेकी थिइन् ।
गेष्ट हाउस संचालिका पौडेलको आग्रह अनुसार लामा र भण्डारीले गेष्ट हाउस संचालकलाई २७ लाख रुपैयाँ भाडा दिन भनेपछि उनीहरु गेष्ट हाउस नै छाडेर गएका थिए । त्यसपछि पौडेल आफैले सो गेष्ट हाउस संचालन गरेकी छिन् । तर, पौडेलले भाडा र गेष्ट हाउस संचालकलाई भगाएवापत दिनुपर्ने रकम नदिएपछि विवाद भई सो गेष्ट हाउसमा लामा र भण्डारीले एउटा हुक्का र गिलास फुटाएपछि विवाद सिर्जना भएको थियो ।
यही निहु पारी गेष्ट हाउस संचालिका पौडेलले प्रहरीलाई प्रभावमा पारी जाहेरी दिई हिरासतमा राख्न सफल बनेकी छिन् ।
हिरासतमा रहेका लामा र भण्डारीलाई भेट्न जाने आफन्तहरुलाई समेत केरकार गरी भित्र हालिदिने भन्दै इन्स्पेक्टर पनेरुले दुःख दिने गरेको लामा र भण्डारीका आफन्तले खोजतलासलाई जानकारी गराएका छन् ।
हिरासतमा रहेका अभियुक्तलाई कुटपिटको विषयमा खोजतलासले बानेश्वर प्रहरी बृत्तका प्रमुख डिएसपी निसान श्रीवास्तवलाई बुझ्दा हिरासतमा रहेका अभियुक्तलाई कुटपिट गर्न नपाइने, कुटपिट भएको हो कि होइन बुझेर खबर गर्ने बताएका छन् ।