काठमाडौं । पछिल्लो समय ठमेल क्षेत्र अपराधिक गिरोहको अखडाको रुपमा रहेको गत शनिबार भएको छायाँसेन्टरसँगै रहेको वाल्डो होटलको घटनाले पुष्टि गरेको छ ।
काठमाडौंको ठमेलस्थित वाल्डो होटलमा अपराधिक पृष्ठभूमि भएका विदेशीहरुको बाक्लो जमघट हुने पाइएको पनि छ । गत शनिबार पुष २ गते वाल्डो होटलमा भएको खुकुरी काण्डले ठमेल क्षेत्र नै अपराधिक गतिविधि गर्ने पर्यटकहरुको जमघट हुने स्थलको रुपमा हेरिन थालेको छ ।
काठमाडौंको मुटु तथा मुलुककै मुख्य पर्यटकीय स्थलको रुपमा मानिने ठमेलमा रहेको छाँयासेन्टरसँगै जोडिएको वाल्डोहोटलमा गत शनिबार ७ः३५ बजे चाइनिजहरुको दुई समूहबिच खुकुरी हानाहान भएको थियो ।
समाचार स्रोतका अनुसार खुकुरी हान्ने व्यक्ति वाल्डो होटलमै लामो समयदेखि बस्दै अपराधिक गतिविधिमा संलग्न हुँदै आएको र खुकुरी खाने व्यक्ति पनि चाइनिज भएको र उनी भक्तपुरमा एक कृषि फार्म चलाँउदै आइरहेको बुझिएको छ । घाइते चाइनिजको श्रीमती सोही होटलको वाल्डो डाइनेस्टी क्यासिनोमा टेबुल बुक गरी पोकर खेल खेलाउदै आइरहेको स्रोतले दाबी गरेको छ ।
चाइनिजहरुबीच खुकुरी हानाहानको प्रत्यक्षदर्शी सोही होटलका कर्मचारीका अनुसार सुरुमा खुकुरी हानाहानको कारण अपराधिक गतिविधिको विषयलाई कुरा नमिले पछि भएको हो ।
यति ठूलो घटनालाई लुकाउन होटलका व्यवस्थापनले घाइते भएका चाइनिजलाई कहाँ लगेर उपचार गरे र खुकुरी हान्ने चाइनिजलाई किन भगाए भन्ने विषयलाई लिएर स्थानीयहरु आक्रोशित बनेका छन् । अपराधिक गतिविधि गर्दै आइरहेका चाइनिजहरुद्वारा यस्तो घटना आफूहरुमा पनि घटाउँछन् कि भन्ने स्थानीय त्रसित बनेका छन् ।
सो होटलमा यस्तो जघन्य घटना घट्दा पनि घटनालाई सामसुम पार्न व्यवस्थापनले खोजे पनि स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले दुईवटा रगतले लत्तपत्तिएको खुकरी फेला पारेको थियो भने घाइते र खुकरी हान्ने चाइनिज पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
सो होटलमा घटनाको रमिते बनिरहेका स्थानीयले विगतदेखि यौन अखडाको रुपमा रहेको खोजतलासलाई गुनासो पोखेका थिए । चाइनिजहरुले आर्थिक प्रलोभनमा पारी कलिला नेपाली र स्कुले विद्यार्थीहरुलाई लगी सो होटलमा यौनजन्य गतिविधि गर्दै आए पनि सम्बन्धित निकायले थाहा पाए पनि खासै चासो नदेखाएको गुनासो स्थानीयले पोखेका छन् ।