बामदेवमाथि फेरि धोकाधडी हुँदै

19.8k Shares

काठमाडौं । ‘बिरालो जतिसुकै थुनेपनि म्याऊँ गर्छ ।’ आखिर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कुटिल चाला देखाइहाले । उनले बामदेव गौतमलाई लालच देखाएर सत्ता त जोगाए तर गौतम राष्ट्रियसभा सदस्यमै सिमित हुने निश्चितप्रायः भएको छ । निकै गाह्रो गरी गौतमको नाम राष्ट्रियसभामा मनोनित सदस्य बनाउने गरी सोमबार मन्त्रिपरिषद्बाट पारित भएको छ । यसका लागि नेकपा सचिवालयले निर्णय गरेको समय गन्दा तीन महिना लाग्यो । फेरि बनाउँछु भनेको दिन देखि दुई हप्ता लाग्यो । अब उनको राष्ट्रपतिबाट मनोनित हुने दिनमा पनि समय लाग्नसक्छ । यसरी ओलीले बामदेवको बदनाम गराइरहेका छन् । 
बामदेवको यसरी बदनाम गराइरहेको बुझेर माधव नेपालले हालै यसबाट कडा अभिव्यक्ति दिएका छन् । गौतमको योगदानको अवमूल्यन गरिएको र जे पाए त्यही भनिएको भन्दै असन्तुष्टि पोखे । ओलीले निरन्तर गौतमलाई बदनाम बनाइरहेका छन् । उनलाई पदलोलुप देखाइरहेका छन् । कहिले अर्थमन्त्री बनाउँला जस्तो गर्ने त कहिले गृहमै लगौंला जस्तो गर्ने । तर, अनेकन कानुनी अड्चन देखाएर गौतमलाई रोक्न खेल ओलीको कोटरीबाट चलिसकेको छ । 
गौतमको अर्थमन्त्री बन्ने आशामा तुषारापात भइसकेकोछ । अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ । यो नियुक्तिमा क्याबिनेटका मन्त्रीहरुले नै चालै पाएनन् । अब खतिवडा निवर्तमान अर्थमन्त्री रहेनन्, डिफ्याक्टो अर्थमन्त्री रहे । उनैले आर्थिक पाटो हेर्नेछन् । खतिवडा हावी भएको मन्त्रालयमा बामदेव गौतम जाने विषय पनि रहेन । ओलीले नलाने निश्चित छ । अब उनको ध्यान गृहमा जानथालेको छ । गृहमा पनि रामबहादुर थापा बादल छन् । ओलीलाई बादलले निकै साथ दिए । उनले बादललाई हटाएर अन्यलाई ल्याउने सम्भावना पनि छैन । भौतकि मन्त्रालयमा वसन्त नेम्वाङ जमेर बसिसके । यसरी गौतमका लागि अब बाँकी मन्त्रालय भनेको शहरी विकास मात्र छ । यसरी उनी सरकारमा जानबाट रोकिदैछन् । गौतम रोकिएमा राष्ट्रियसभा सदस्यबाटै राजीनामा दिएर निस्कन सक्छन् । त्यतिबेला नेकपाभित्र नयाँ विवाद सृजना हुने निश्चित छ । 
ओलीको सत्ता संकट टार्ने मुख्य पात्र नै बामदेव हुन् । उनले केही राजनीतिक लेनदेन गरेर ओलीको सत्ता जोगाउन योगदान दिएको चर्चा अझै सेलाएको छैन । तर, गौतमलाई फेरि धोका भएमा अवस्था जटिल हुनसक्छ । गौतमले निकटस्थसँग अन्तिम पटक हेरौं भनेको बुझिएको छ । यो अवस्थामा फेरि धोका भएर बेवास्ता भएमा केन्द्रीय कमिटी बैठकमा छिनोफानो हुन्छ । पार्टीको कार्यभार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने टुंगो लागिसकेको छ । उनले नै केन्द्रीय कमिटी बैठक डाक्न सक्छन् । बैठकले त्यतिबेला लिने निर्णयले नेकपाभित्र गम्भीर परिस्थिति पैदा हुनसक्छ । 
हुनत राजनीतिक लेनदेनबाट ओलीले सत्तालाई जोगाए । यसमा प्रचण्ड र माधवकुमार नेपाल केही पछि हटे । झलनाथ खनालले सर्प पालनका लागि रकम पाउनुलाई अर्थपूर्ण मानिएको छ । यसरी कुटिल चालबाट सत्ता जोगाएपनि यो तत्कालका लागि मात्र देखिएको छ । ओलीको धोकाधडी गर्ने र कुटिल चाल अब महङ्गो सावित हुन सक्छ । 
कार्यदल बनाएर १५ बुँदे सहमतिको बुँदासँगै नेकपाभित्र तत्कालको संकट टरेको मात्र हो । त्यसले पार भने पाएको छैन । ओलीले तत्काललाई विरोधीलाई अलमलाउन सकेका मात्र हुन् । विगतमा पनि उनले प्रचण्डसँग सहमति गरेका थिए तर पालना गरेनन् । कहिले बामदेवलाई प्रधानमन्त्रीको लालचा देखाएर अलमलाए । कहिले माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने भनेर टारे । यो तुरुप त्यतिबेला काम लाग्यो । ओलीले बामदेवलाइ लालचा देखाएर पनि आफ्नो पल्ला भारी पारे । अब सधैं टर्ने सम्भावना देखिएको छैन । यसपटक बामदेवलाई धोका दिएमा नेकपाभित्र आँधी नै आउने निश्चित छ । प्रचण्ड, माधव नेपाल र बामदेव गौतमको आ आफ्नै रणनीति छ । ओलीले पनि निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ता गरेर राखेका छन् । सबैले राजनीतिक अस्त्रमा धार हालेर राखेका छन् । त्यसको प्रयोग उचित समयमा गर्ने निश्चित देखिएको छ । 
ओली सत्ताका लागि जुनसुकै कदम चाल्न तयार हुने गरी प्रस्तुत भएका छन् । उनले पार्टीलाई समेत तपसिलको बनाइसकेका छन् । नत्र पार्टी फुटाउन सजिलो हुने अध्यादेश र नेकपा एमाले नामको पार्टी दर्ता गर्न लगाउँदैनथिए । उनका लागि आफू नै पार्टी हुँ भन्ने भइसकेको छ । ओली आत्मघाती शैलीमा प्रस्तुत हुन थालेबाट प्रचण्ड र माधव नेपाल सतर्क भएका हुन् । उनीहरु केही रक्षात्मक पनि भए । अब ओली फेरि पेल्ने शैलीमा प्रस्तुत भएका छन् । ऊर्जा मन्त्रालयमा वर्षमान पुन मन्त्री भएपनि उनले निर्णय गर्ने क्षमता राख्न सकेनन् । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति दिन सकेनन् । यसमा पनि ओलीले बलमिच्याईं गरे । प्रचण्ड पक्षधरलाई कमजोर सावित गर्न खोजे । मन्त्रालयमा प्रचण्ड या माधवकुमार नेपाल निकटस्थ नेताहरु मन्त्री भएपनि सम्पूर्ण निर्णय ओलीको हातमा केन्द्रित हुनथालेको छ । सुब्बाको सरुवा गर्न पनि मुश्किल पर्ने गरी मन्त्रीहरु कमजोर बनाइएका छन् । यसकारण पनि कुनैपनि बेला नेकपाभित्र विष्फोटको अवस्था आउन सक्ने देखिएको छ । यसले ओलीको सत्ता संकटभन्दा पनि अवस्था टाढा पुग्न सक्छ । कम्युनिस्ट पार्टीकै भविष्य खतरामा पर्नेबारे नेकपाभित्र विश्लेषण हुनथालेको छ । विगतमा तत्कालन राजा ज्ञानेन्द्रले पनि आफू सर्वेसर्वा हुँ भनी बलमिच्याईं गर्न खोज्दा राजसंस्था नै अन्त भएको थियो । 
 

सम्बन्धित समाचार