काठमाडौं । निर्धारित मितिमा कांग्रेसको १४औं महाधिवेशन नहुने निश्चितप्रायः भएको छ । फागुन ७ देखि १० सम्म तोकिएको महाधिवेशन कोभिड र कांग्रेसको आन्तरिक विवादले पर सर्ने भएको हो ।
महाधिवेशनको कार्यतालिका प्रभावित बनेपछि दुई विकल्प अघि सारिएको छ । २०७८ को जेठ वा भाद्रमा गर्ने नयाँ मिति तोक्ने गरी आन्तरिक छलफल अघि बढेको हो । सभापति शेरबहादुर देउवा तोकिएको मितिमा महाधिवेशन नहुनेमा ढुक्क देखिएका छन् । बिपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा भएको भर्चुअल संवाद देउवाले नयाँ मिति सबैको सहमतिबाट तोकिने बताएका थिए । देउवाले भनेका थिए, ‘संविधानले दिएको व्यवस्थाभन्दा बढाउन पाउँदिन भन्ने त मलाई पनि थाहा छ ।’
देउवाका लागि महाधिवेशन सर्ने प्रमुख कारण कोरोना महामारी हो । महाधिवेशन सर्ने अभिव्यक्ति दिँदा त्यसको अपजस लिनुपर्ने भएकाले केन्द्रीय समितिबाट निर्णय गराउने प्रक्रियामा छन् सभापति देउवा । संस्थापन इतरको समर्थनसमेत लिएर निर्णय गर्दा दोषको भागीदार हुनु नपर्ने उनको बुझाई छ । ‘सबै साथीहरुको सहमतिले नयाँ मिति तोक्ने हो । मैले हुँदैन कहाँ भन्छु र ?’
संस्थापन इतरका नेताहरू निर्धारित कार्यतालिका अनुसार महाधिवेशनका काम नहुनुमा देउवा पक्षलाई दोष लगाउँछन् । संगठन समायोजनका काम सक्नका लागि समयावधि पटक—पटक सारिएको थियो । अन्तिम समयका लागि साउन १० सम्म दिइएको समयावधिमा निर्वाचन समितिले आफ्नो कार्य सकेको छैन ।
प्रदेश २ का ८ जिल्लासहित करिब एक दर्जन जिल्लामा समायोजन सकिएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवा पक्षले समायोजन अल्झाएर राखेको आरोप लगाएका छन् । अर्कोतर्फ क्रियाशील सदस्यताको वितरण र नवीकरण समेत विवाद देखिएको छ । जिल्ला सभापतिले समायोजनको कार्य सकेर केन्द्रमा पठाएपनि संस्थापन पक्षले विवाद झिकेर क्रियाशील सदस्यता वितरण गर्न रोकेको बताइएको छ । अन्य दलबाट आएकालाई सभापतिले आफुखुसी क्रियाशील सदस्यता बाँडेको संस्थापनइतरले जनाएको छ । नेता प्रकाशमान सिंहले भने, ‘कांग्रेसमा एक जना प्रवेश गर्ने तर उसको नाममा हजारौंलाई क्रियाशील सदस्यता वितरण गर्ने कार्य भएको छ ।’
डडेल्धुरा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लाले समायोजन सकेपनि क्रियाशील सदस्यता वितरण जिल्ला सभापतिमार्फत् हुन सकेको छैन ।
वरिष्ठ नेता पौडेल हाल निर्धारित समयको सदुपयोग गरी फागुनमै महाधिवेशन हुनुपर्ने अडानमा छन् । उनले भने, ‘पाँच महिना त सिंगै बाँकी छ । यो बीचमा हामी के गछौं त्यसमा पो चिन्ता हुनुपर्ने हो ।’ तल्लो तहका अधिवेशनको समयावधि घटाएर गर्न सकिने उनले विकल्प अघि सारे ।
पार्टीको विधानलाई रछ्यानमा फालेर केन्द्रीय समितिबाट नयाँ तोक्न अधिकारसमेत नहुने उनको तर्क छ । पाँच महिनालाई सदुपयोग नगरी म्याद थप्ने प्रस्ताव मान्य नहुने उनले बताए । ‘पाँच महिनामा भ्याउँदैनौं भनी म्याद थपियो भने त्यो थपेको म्यादमा पनि काम हुँदैन ।’
निर्वाचन आयोगलाई पत्र लेखेर कार्यसमितिको अवधि बढाउन नहुने पक्षमा उनी छन् । निर्वाचन आयोगलाई पत्र लेख्ने परिस्थिति निर्माण भए त्यसमा षड्यन्त्रको आशंका गर्छन् पौडेल । विगतमा आफ्नै पक्षका नेताहरुले शीघ्र महाधिवेशनको कुरा उठाउँदा समयमा महाधिवेशनको माग मात्र आफूले उठाएको उनले स्मरण गरे । नेविसंघ सभापति हुँदादेखि नै देउवालाई नजिकबाट चिनेको बताउँदै उनले भने, ‘शेरबहादुर देउवा सभापति हुँदा त जथाभावी हुन्छ—हुन्छ । केही गरेर रोक्न सकिदैंन ।’
महाधिवेशनको नयाँ मिति, क्रियाशील सदस्यता, विभाग गठनलगायतमा देखिएका विवादमा हल निकाल्न केन्द्रीय समिति बैठकको माग भइरहेको छ । असोजको दोश्रो साता बैठक बोलाउने तयारी रहेको केन्द्रीय सदस्य एनपी साउदले जानकारी गराएका छन् । उनले भने, ‘कोरोनाले महाधिवेशनको कार्यतालिकाअनुसार काम भएको छैन । जेठमा वा भाद्रमा हुने गरी नयाँ मिति सार्वजनिक हुन्छ ।’
मिति पुनः फेर्ने परिस्थिति नआउनका लागि भदौको लागि अन्तिम मिति तोक्ने गरी छलफल पनि भएको उनले सुनाए । मुख्य सचिव कृष्णप्रसाद पौडेलले महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण देखिएकाले बैठकको मिति तय हुन नसकेको बताए ।
जिल्ला अधिवेशनका तोकिएको पुस महिना अघिका निर्धारित कार्य सक्न सभापतिले अग्रसरता लिनुपर्ने संस्थापनइतरका नेताहरुको माग छ । नेता सिंहले भने, ‘पुसमा जिल्ला तहको अधिवेशन छ । त्यसअघि तीन महिना बाँकी छ । सुतेर बस्ने हो भने त थपेको ६ महिनामा पनि हुँदैन ।’ केन्द्रीय समितिले महाधिवेशनको नयाँ मिति जेठमा हुने गरी तोक्ने सम्भावना रहेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।