१६२ औं पटक रक्तदान गरिसकेका प्रेमसागर कर्माचार्यले आफ्ना छोरा–छोरीलाई पनि रक्तदान गर्नेहरूको लश्करमा उभ्याइसकेका छन् । प्रेमसागरका दुई छोरी र एक छोरा छन् । उनले छोरोको १८ औं जन्मदिन रगत दान गरेर नै मनाए । १८ औं जन्मदिन रक्तदान गरेर मनाउने तय गरिसकेका ५ सय जति साथीहरूको सूची छोराले देखाउँदा उनी आफ्नो अभियानले सार्थकता पाएको ठान्छन् । युवा अवस्थामा प्रवेश गर्नेलाई १८ औं वर्षको जन्मदिन रक्तदान गरेरै मनाउन लगाउने अभियायानमै छन् उनी । प्रेमसागर आफूले भेटेका जतिलाई निरन्तर रक्तदान गर्न प्रोत्साहन गर्छन् । उनको अभियानलाई छोरा–छोरीले पनि साथ दिन थालिसकेका छन् । १८ वर्षको युवाले रक्तदानलाई अंगाल्ने हो भने देश नै स्वस्थ्य रहन्छ उनी भन्छन् ।
१६ वर्षे उमेरबाटै रक्तदानको सुरुवात गरेका उनी ५६ वर्षमा पुग्दा एक सय ६२ औं पटक रक्तदान गरिसकेका छन् । भन्छन्, ‘शरीरमा रोग नलागे ७० वर्षसम्म या त्योभन्दा पछिसम्म । रक्तदान गरिरहन्छु ।’
प्रत्येक तीन–तीन महिनाको अन्तरालमा रक्तदान गर्ने बानी नै लागेको छ उनलाई । रगत दिएपछि सेवाभावले उनको मन प्रसन्न हुन्छ । शारीरिक रूपमा पनि उनी आफूलाई हल्का र ताजा भएको महसुस गर्छन् ।
‘१८ वर्ष उमेर पुगेको ४५ केजी तौल भएका तथा कुनै औषधि सेवन नगरेका व्यक्ति रक्तदानका लागि योग्य हुन्छन्’, उनले भने । प्रेमसागर नेपालमा सबैभन्दा धेरैपटक रक्तदान गर्ने व्यक्ति हुन् । उनको रगतले कति बिरामीको ज्यान जोगियो गणना छैन । रगत नपाएर जीवन जोखिममा परेकाहरूका लागि उनी रगत दाता खोज्न दिनरात नभनी लागिपर्छन् । बिरामीलाई रगत उपलब्ध गराउन उनी र उनीजस्तै रक्तदाता मिलेर ‘नेपाल स्वयंसेवी रक्तदाता समाज’ खोलेका छन् । रक्तदाताका रगतको सदुपयोग गर्न रक्तदाताहरू नै मिलेर २०६२ माघमा संस्था स्थापना भएको हो । उनी संस्थाका अध्यक्ष हुन् । ‘स्वयंसेवी रक्तदाता समाज’ का लागि आवश्यक रगत र रक्तदाता जम्मा गर्न उनी देशका विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम लिएर पुगेका छन् । समाजका अहिले ९ हजार सदस्य छन् । ४२ जिल्लामा फैलिएको समाजले रक्तदान शिविरहरू सञ्चालन गर्दैआएको छ ।
समाजको स्थापना नै नेगेटिभबाट भएको बताउँछन् प्रेमसागर । उनी भन्छन्, ‘संस्थाको स्थापना नै ‘छैन’ भन्ने शब्दबाट भएको हो । ‘हामी रक्तदाता मानिसको ज्यान बचाउनु आफ्नो अहोभाग्य सम्झन्छौं । दिनरात नभनी रक्तदान गर्छौं तर बिरामी रगत लिन ब्लड बैंक जाँदा सधैं ‘रगत छैन÷रगत छैन’ भनेको मात्र सुन्न पर्छ’, उनी दुःखी हुँदै भन्छन्, ‘एकातिर निरन्तर रक्तदान भएको छ अर्कातिर रगतको अभाव यथावत् छ ।’
खोजतलाससँग कुराकानी गरिरहेका बेला पनि उनलाई सुमेरु अस्पतालमा भर्ना भएकी एकजना बिरामीका आफन्तले फोन गरी रगतको बारेमा सोधिरहेका थिए । ति बिरामीका आफन्तले आफूसँग २ पोका रगत रहेको जानकारी गराएका थिए । दोस्रो पोका चढाएपछि मलाई फोन गर्नुहोला म जहाँबाट भएपनि रगत अपलब्ध गराउँछु’, प्रेमसागर अथाह प्रेमका भण्डार हुन् भन्ने कुरा उनको यो भनाइबाटै प्रष्टै झल्किन्थ्यो । आफ्नो रगतले बिरामीको ज्यान जोगाउन लागिपरेका प्रेमसागर साँच्चै नै प्रेमका सागर हुन् ।
पहिलो पटक रगत दिँदाको क्षण सम्झनलायक भएको बताउँछन् उनी । पहिलो पटक ‘रगत दिनुपर्छ’ भनेर दिएका थिएनन् उनले । ‘अहिले ट्रमा सेन्टर भएकै ठाउँमा २०३६ सालमा ‘लक्ष्मी ब्लड बैंक’ थियो । त्यही बाटो भएर आउँदा जाँदा भरियादाइहरूसँग रगतका लागि सौदाबाजी गरेको सुन्थेँ’, उनले भने, ‘एक दिन भित्र कस्तो रहेछ भनेर हेर्न पसेको थिएँ । उनीहरूले रगत दिनुपर्छ भनिहाले ।’
पहिला रगत दिने मानिस अहिले जति पाइँदैनथ्यो । जो भेटिन्छ उसैको रगत लिइहाल्ने उनले बताए । रगत दिन १८ वर्ष हुनुपर्ने मापदण्ड छ । मानिस नै नपाइने भएर १६ वर्षमा उमेरको मापदण्डलाई पूरा नगरी उनको रगत लिइएको थियो ।
तत्कालीन ‘लक्ष्मी ब्लड बैंक’का प्रमुख वासुदेव शर्माले रगत दिन उक्साएर मात्र रगत दिएका थिए प्रेमसागरले । ‘मैले रुचि नलागीकन पहिलो पटक रगत दिएँ । पछि फेरि आउजाउ गर्दा यो त सेवाको काम जस्तो लाग्यो । त्यसपछि लगातार तीनतीन महिनामा दिन लागेँ’, उनले भने,‘मैले दश पटक रगत दिइसक्दा पनि घर परिवारलाई जानकारी थिएन । बुबाले कताबाट थाहा पाउनु भएछ, त्यसपछि उहाँले हाम्रै टोलमा रक्तदान शिविर नै सञ्चालन गर्नुभयो ।’
बाबुबाट प्रेरित
आफ्नो बाबुको कामबाट प्रेरित भएर सेवाकर्ममा लागेको प्रेमसागर बताउँछन् । बाबु प्रेमपूर्ण कर्माचार्य सामाजिक अभियन्ता थिए । कृषि विभागअन्तर्गत ‘फार्म सिचाइँ तथा जल उपयोग शाखा’का जागिरे थिए उनी । सामान्य चोटपटक लागेर आएका मानिसहरूको प्राथमिक उपचार घरमै गर्थे उनी । बुवाको यो सेवाभाव नै उनको जीवनको उत्प्रेरणा बन्यो ।
प्रेमसागरको जन्म २०२० सालमा मजिमपाटमा भएको हो । २०२८ सालमा उनको परिवार बागबजार बसाइँ स¥यो । त्यति बेला उनको घरबाट टुँडिखेलतिर हेर्दा पूरै जंगल देखिन्थ्यो । वरिपरी खेत थिए । खेतमा काम गर्ने किसानलाई चोटपटक लाग्दा उनको घरमा उपचार गर्न आउँथ्ये । उनका बुवा प्रेमपूर्णले उनीहरूको सामान्य उपचार गरिदिन्थे । किसानहरू स्वस्थ भएर काममा फर्कंन्थे । बुवाको यसरी बिनासर्त सेवा गर्ने तरिका प्रेमसागरको मनमा गढेर बस्यो । त्यही प्रेरणाले जीवनपर्यन्त उनले आवश्यक व्यक्तिलाई रगत दिएर वा उपलब्ध गराएर बिताउने निर्णय गरे र यसैमा लागे ।
रक्तदानले निरोगी
५६ वर्षको उमेरसम्म लगातार तीन–तीन महिनाको अन्तरालमा रक्तदान गरिरहँदा पनि उनलाई कमजोरी अनुभव भएन । भन्छन्, ‘मलाई अहिलेसम्म कुनै ठूलो रोगले समातेको छैन । यसको एकमात्र कारण रक्तदान नै जस्तो लाग्छ ।’
एउटा स्वस्थ्य पुरुषको शरीरमा प्रतिकेजी ७६ एमएल र महिलामा ६६ एमएल रगत हुन्छ । मानिसको शरीरलाई प्रतिकेजी ५० एमएल रगत भएपुग्छ । बढी हुने रगत त यसै खेर जाने हो । रक्तदान गर्दा पनि हाम्रो शरीरलाई चाहिने भन्दा बढी नै रगत बाँकी रहन्छ । त्यसैले स्वस्थ्य मानिस सबैले रगत दान गर्नु पर्छ उनले भने । ‘सरकारले यो कुरा बुझेको छैन, हामीले त्यही कुरा बुझाउन प्रयास गरिरहेका छौं’, उनले भने ।
‘बिरामीलाई रगत दिएर बचाउन सकेको समय सबैभन्दा बढी आनन्दमय लाग्छ । हामीले दिएको रगत नसामा बगेर कोही यो संसारमा जीवित छ भन्ने कुरा नै मेरो खुसीको उच्च बिन्दु हो’, हामीसँगको कुराकानीमा उनले गर्वका साथ भने ।
खुसीको एउटा घटना सुनाउँदै उनले थपे, ‘मेरो लगभग रगत दिने समय भएको थियो । ब्लड बैंकबाट ‘ल प्रेमजी, ब्लड चाहियो । तुरुन्त आइदिनु प¥यो’ भनेर फोन आयो ।
त्यहाँ पुगेपछि सधैंजसो रगत लिने काम भयो । रगत दिएर निस्किन लागेको थिएँ । ‘ल प्रेमसागरजी एकछिन पख्नुस्, म तपाईंको रगतले कति काम भयो देखाउँछु भने’, उनले खुसी हुँदै बताउँदै गए, ‘एकछिनमा नाकबाट रगत बगेको एकजना महिलालाई त्यहाँ सुताइरहेको रहेछ । उनको नाकबाट बगिरहेको रगत शरीरमा मेरो रगत चढाएपछि थामियो । उनको जीवन आफ्नो रगतले बाँचेको देख्दा मन निकै प्रसन्न भयो ।’
रगतको व्यापारविरुद्ध
उनी सरकार र अस्पतालसँग आजित छन् । बिरामीलाई आवश्यक सहयोग नगरी रगत ल्याउन आदेश दिने र जिम्मेवारीबाट पन्छिने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको व्यवहार अमानवीय लाग्छ उनलाई ।
ठूल्ठूला अस्पतालले नै दाताले ‘फ्री’मा दिएको रगतको उच्च मूल्य लिएर गरेको व्यापारलाई कटाक्ष गर्दै उनले एउटा नारा नै बनाएका छन्, ‘स्वयंसेवी रक्तदाता दुहुनो गाई÷रक्त व्यवस्थापन मंसिरको दाइँ’ ।
उनीहरूको संस्थाले रेडक्रसलाई निःशुल्कको छाप लगाएर दिएको रगतलाई पनि उचित प्रयोगमा ल्याउन नसकेको उनको आरोप छ । प्रेमसागर रगतमा नाफाको उद्देश्य राखेर ब्यापार भएकोमा नमिठो मान्छन् । हामीले निःशुल्क दिएको रगत रेडक्रसले ४४७ रुपैयाँमा बिरामीलाई बेचेकोमा उनलाई नरमाइलो लागेको छ । रगतका सबै प्रक्रिया पूरा गर्दा २७५ देखि ३०० रुपैयाँ जतिमा हुन्छ, रेडक्रसले ४७५ मा बेचेको छ । अझ निजी अस्पतालले एक पोका रगतको १७ सय रुपैयाँसम्म लिएको भन्दै बिरामीका आफन्तले गरेको दुखेसोले उनको मन कुडाँएको छ । भन्छन्, निजी अस्पतालको यो कार्यले स्वयं सेवी रक्तदाताको अपमान गरेको छ ।’
समाजले नै ब्लड बैंक स्थापना गर्न सक्दैन ? खोजतलासको प्रश्नको उत्तरमा उनी भन्छन, ‘हामी स्वयंसेवीलाई यो काम गर्न गाह्रो हुन्छ । दाताहरूले हामी बनाइदिन्छौं त भन्नु भएको छ, तर यसको व्यवस्थापनको पाटो जटिल छ । हामीले पनि निजी क्षेत्रलाई जिम्मा दिनुपर्छ । निजी क्षेत्रले नाफा नकमाई यो कार्य गरिदिँदैन । अहिले रेडक्रसले नै गरिरहेको छ । त्यसैलाई व्यवस्थित गर्नु पर्छ भन्ने मान्यता हो ।’
हामीले निःशुल्क दिएको रगत बिरामीलाई निःशुल्क दिने अवस्था नबन्दासम्म आवाज उठाइरहने बताउँछन् उनी ।
अर्थशास्त्रमा बीए गरेका उनले जागिर खाने र पैसा कमाउने उद्देश्य कहिल्लै राखेनन् । उनले आफ्नो सफलतालाई पैसासँग दाँजेनन् । पैसाको पर्वाह नगरी मानव सेवाका लागि जीवन अर्पण गर्ने उनको दृढ संकल्पलाई हाम्रो पनि सलाम ।