काठमाडौं, २१ भाद्र । केपी सिमेन्ट गुणस्तरहीन भएको प्रमाणित गर्दै सेनाले सो सिमेन्ट प्रयोग गरी बनाइएको संरचना नै भत्काएको छ ।
‘नेपाली चुनढुंगा, नेपाली हात, केपी सिमेन्टले दिन्छ पुस्तौं साथ’ भन्ने नारा बोकेर बजारमा आएको केपी सिमेन्टलाई अहिले सोही नाराले नराम्ररी गिज्याइरहेको छ ।
पछिल्लोपटक नेपाली सेनाको आवासीय भवन निर्माण गर्ने क्रममा उक्त सिमेन्टको गुणस्तरमा प्रश्न उठेपछि सेनाले आफ्नो निर्माणाधीन भवन नै भत्काएको छ । काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित नेपाली सेनाको २६ नम्बर वाहिनीको आवासीय भवन निर्माण गर्ने क्रममा केपी सिमेन्ट गुणस्तरहीन रहेको तथ्य फेला पारेपछि सेनाले बनाइएको संरचना नै भत्काएको छ ।
नेपाली सेनाको उक्त भवन निर्माण गर्न ब्राइट डायना जेभीले ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले भवन निर्माण गर्न प्रयोग गरेको केपी सिमेन्ट गुणस्तरहीन भएपछि निर्माणाधीन उक्त भवन सेनाले भत्काएको छ । सैनिक भवन निर्माण गर्न प्रयोग भएको केपी सिमेन्टका कुनै बोरामा ३३ ग्रेड, कुनैमा ग्रेड मेटिएको र कुनैमा ग्रेड नै उल्लेख नभएका बोरा फेला परेका थिए ।
सिमेन्टको गुणस्तर पहिचान गराउने ग्रेडका बारेमा स्पष्ट नभएपछि सेनाको प्राविधिक टोलीले निर्माण सामग्रीको गुणस्तरबारे छानबिन गरेको थियो । सैन्य संरचना निर्माणमा प्रयोग भएका निर्माण सामग्रीको गुणस्तर शंकास्पद देखिएपछि सुरक्षा संवेदनातर्फ सेना चनाखो भएको थियो ।
सोही क्रममा सेनानी पीताम्बर रेग्मीको संयोजकत्वमा गठित समितिले भवन निर्माण गर्न आयात भएको केपी सिमेन्ट गत वैशाख ७ गते फिर्ता पठाउने निर्णय गरेकोे सैन्य स्रोतले जनाएको छ । सो निर्णयअनुसार ठेकेदार कम्पनीले खरिद गरेको ७५० बोरा केपी सिमेन्टमध्ये २६५ बोरा सिमेन्ट प्रयोग भइसकेको हुँदा बाँकी रहेको ४८५ बोरा सिमेन्टलाई दुईवटा ट्रकमा लोड गरी कम्पनीमा नै फिर्ता पठाएको थियो ।
त्यस्तै, केपी सिमेन्ट प्रयोग भई निर्माण भएको संरचनालाई समेत सेनाले भत्काउन प्रक्रिया थालेको थियो । गत असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त भवन निर्माणमा ढिलाइ त भयो नै साथसाथै ठेकेदारले आर्थिक नोक्सानीसमेत बेहोर्नुपरेको छ । सैन्य स्रोतका अनुसार केपी सिमेन्टका प्रतिनिधिको रोहबरमा निर्माणाधीन उक्त भवन भत्काइएको थियो । त्यसबापत क्षतिपूर्ति उद्योगले तिर्ने सहमतिसमेत भएको जनाइएको छ । तर, उद्योग लामो समयसम्म सम्पर्कमा नआएको बताइएको छ । दुई ट्रक सिमेन्ट उद्योगमा नै फिर्ता भएपछि उद्योगले आफ्नो कमजोरी स्वीकार गर्दै बेनामे पत्रसमेत पठाएको स्रोतको भनाइ छ ।
धादिङको नौबिसेमा उद्योग रहेको केपी सिमेन्टले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको वेबसाइटमा वार्षिक ५४ हजार टन उत्पादन क्षमता रहेको उल्लेख छ । गुणस्तरका विषयमा विगतदेखि नै केपी सिमेन्ट विवादमा पर्दै आएको छ । त्यसबाहेकको लगानीसमेत शंकास्पद रहेको भन्दै छानबिनसमेत भएका तथ्य सार्वजनिक हुने गरेका छन् ।