ललितपुर । गोदावरी नगरपालिका १२ ठेचोमा गत गठेमंगलदेखि चैतसम्म मनाइने नवदुर्गा भवानीको बाह्र बर्षे जात्राका लागि आज दक्षिण ललितपुरको दलचोकीस्थित तीनपाने जंगलबाट आगँसी(दाउरा) लिन गुठियारहरु त्यसतर्फ प्रस्थान गरेको छ ।
आज विहान ठेचोबाट गुठीयारलागायत स्थानीयहरु आगँसी (दाउरा) लिन दलचोकीस्थित तीनपाने जंगल गएका छन् । नवदुर्गा भवानी देवि गुठीका नाइके भक्तलाल मालीले आज दिउँसो ३ बजे चापागाँउ शेराफाँटबाट झाँकी सहित आगँसी ठेचो देवघर नजिकै ल्याइने बताए ।
गत साउन १० गते नवदुर्गा भवानी गुठीमा लगाइएको ताला असार ९ गते खोलेर पुजाआजापछि राँगोको बली दिइएको थियो । साइत अनुसार आज आगँसी लिन प्रस्थान गरेको उनले बताए । उनका अनुसार यो आगँसी असोज १६ गते सुनाकोठीस्थित कुल्पी(वालकुमारी मन्दिरपरिसर)मा यज्ञ गरिन्छ । यही यज्ञका लागि यो आगँसीको प्रयोग हुन्छ ।
आगँसी ल्याएपछि विभिन्न देवालयहरुमा नाच देखाइन्छ । यसलगत्तै साइत हेरेर विभिन्न ११ जलाशयबाट जल ल्याइन्छ । टिकाभैरव, छम्पी र नागदहलगायत विभिन्न देविहरुको तोकिएको जलाशयबाट जल ल्याइन्छ ।
आँउदो कोजाग्रत पूर्णिमाको अघिल्लो दिन पाटन दरवार स्क्वायर परिसरमा नृत्य देखाइन्छ । असाज २४ गते ठेचो दुरीखेलमा देशभोजको आयोजना हुन्छ । भोज भव्यताका साथ आयोजना गरिने चलन रहेको माली बताउछन् ।
उनका अनुसार ११ वटा देवताहरुले विभिन्न छुट्टाछुट्टै परिकार ठेचो र सुनाकोठीमा बसोबास गर्ने नेवार समुदायका घरमुलीलाई कमलको पातमा समयबजी खुवाइन्छ । भोजमा सबै स्थानीय एक लाइनमा बस्ने र पस्कने गरिन्छ ।
जात्राका लागि गोदावरी नगरपालिकाले ५० लाख रुपैयाँ दिएको । ६० वटा वली र २८ वटा विभिन्न पुजा, नाच र भोजका लागि करिव ७६ लाख खर्च हुने बताइएको छ । साइत अनुसार आँउदो फागुन चैततिर जात्रा समापान गरिन्छ ।