काठमाडौं, २८ असार । दोलखाबाट काठमाडौं आएकी एक किशोरी टिपरभित्रै बलात्कारको शिकार भएकी छन् । १७ वर्षीया किशोरीलाई दोलखा गौरीशंकर गाउँपालिका-८ का ३२ वर्षीय ज्ञानबहादुर नेपालीले बलात्कार गरेको जाहेरी परेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
गत शुक्रबार दोलखाबाट टिपरमा आएकी किशोरीलाई टिपर चालकले थानकोट पुर्याएर राति करिव १० बजे टिपरभित्रै बलात्कार गरेका हुन् । किशोरी काठमाडौंको गौशालामा बसेर पढ्दै काम पनि गर्छिन् । उनलाई टिपरमा तेल सकियो भन्दै थानकोट डिपो नजिकै पुर्याएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।
नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोको छेउमा पार्किङ गरी रोकी राखेको दोलखाबाट काठमाडौ आएको रा १ ख २७३४ नम्बरको टिपर थानकोटमा तेल हालेर गौशाला लगिदिन्छु भन्दै चालकले उनलाई त्यहाँ पुर्याएका थिए । निगमको थानकोट डिपो जाने बाटोको छेउमा पार्किङ गरेर गाडीको सहचालकलाई गाडीको टायर चेक गर्नु भन्ने बाहानामा गाडीबाट बाहिर पठाएका थिए ।
सहचालकलाई बाहिर पठाएर टिपरको ढोका बन्द गरेको र आफूलाई बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ । बलात्कारपछि उनी टिपर त्यहीँ छाडेर फरार भएका थिए । थानकोट वृत्तले पीडित बालिकालाई उद्धार गरी स्वास्थ्य परीक्षण तथा उपचारका लागि प्रसुती गृह अस्पताल थापाथली लगेको थियो ।
बलात्कारपछि फरार भएका चालकलाई कलंकीबाट पक्राउ गरिएको एसपी मैनालीले जानकारी दिए । उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालतले अनुमति दिएको छ । मुलुकी फौजदारी संहिता २०७४ को करणी सम्बन्धी कसुर अन्तरगत प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ ।