ललितपुर, २६ असार । नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठले प्रभावशाली युवा नेता मीनकृष्ण महर्जनलाई निर्वाचनका लागि उम्मेदवार बनेर प्रतिस्पर्धाका लागि तयारी गर्न निर्देशन दिएका छन् ।
ललितपुरमा शनिबार आयोजित ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा ‘राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७८ को शिल्ड प्रदान तथा भोलेन्टर कोचहरुको सम्मान कार्यक्रममा सभापति श्रेष्ठले सम्बोधन गर्ने क्रममा महर्जनलाई नेपाली कांग्रेसबाट आगामी संसदीय निर्वाचनमा प्रदेश सभा सासंदमा उम्मेदवार भई प्रचारप्रसारमा अहिलेदेखि नै लाग्न खेलकुद क्षेत्रका हस्ती तथा युवा नेता मीनकृष्ण महर्जनलाई आश्वासन दिएका थिए । सम्बोधनकै क्रममा अध्यक्ष श्रेष्ठले महर्जनलाई जिताएर ल्याउन खेलाडी र खेलकुद क्षेत्रका व्यक्तिहरूसँग आग्रह पनि गरेका थिए ।
गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका अधिकांश उम्मेदवारहरुलाई जिताउन कमाण्डरको भूमिका निर्वाह गरी महत्वपूर्ण भूमिका निर्वाह गरी जिताउन सफल बनेका महर्जन खेलकुद क्षेत्रका हस्तीका रुपमा पनि परिचित छन् । खेलकुद क्षेत्रमा सानै उमेरदेखि लागेका महर्जनले खेलकुद क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष रहँदा खेलाडीहरुको मनोबल बढाउने थुप्रै काम गरेको खेलकुद क्षेत्रमा अहिलेसम्म पनि चर्चाको विषय बनेको छ ।
पार्टी सभापति श्रेष्ठले सम्बोधनकै क्रममा भनेको छन् ‘मीनकृष्ण महर्जनजीले खेलकुदको विकासमा जुन किसिमले योगदान र कार्यक्रमहरु गरिरहनु भएको छ, त्यसको मूल्यांकन गरी ललितपुर जिल्ला कांग्रेसको सभापतिको हैसियतले आउँदै गरेको प्रदेश चुनाव र संघको चुनावमा म मीनकृष्ण महर्जनजीलाई उम्मेदवारी बन्न तयारी रुपमा आफूलाई अगाडि बढाउनको लागि म आग्रह गर्दछु ।’
‘मैले ललितपुर जिल्लाको पार्टी सभापति भएको हिसावले मैल ललितपुर जिल्लाबाट गर्नुपर्ने काम सम्पूर्ण रुपमा तयारीका रुपमा अगाडि सार्छु’, सभापति श्रेष्ठले भने, ‘अगाडि सारिसकेपछि जितेर ल्याउन भूमिका तपाई सम्पूर्ण खेलकुदको साथीहरूको हुने भएको हुनाले उहाँलाई जिताएर पनि ल्याउनुस् ।’
‘त्यसपछि खेलकुद मन्त्रालयको मन्त्री बनाउने जिम्मा पनि ललितपुर कांग्रेसले सभापतिको हैसियतले यो पनि जिम्मा लिएँ’, श्रेष्ठले भनेका छन् ।
कांग्रेसका युवा नेता महर्जन गएको प्रदेश निर्वाचनमा झिनो मतान्तरले पराजित बनेका थिए । त्यतिबेला कम्युनिष्ट गठनबन्धन र राप्रपालेसमेत कम्युनिष्ट नेतालाई सहयोग गरेका कारणले पनि झिनो मतान्तरले पराजित बनेका हुन् ।
सभापति श्रेष्ठले महर्जनलाई पुनः तयारी गर्न र प्रचार प्रसारमा जुट्न निर्देशन दिएपछि ललितपुरका खेलाडी र खेलकुदसँग जोडिएकादेखि लिएर कांग्रेसी कार्यकर्ताहरुमाझ महर्जनलाई जिताउन उत्साह बढेको छ ।
त्यसैगरी, सो कार्यक्रममा सम्बोधन गर्ने क्रममा मीनकृष्ण महर्जनले पनि आफ्नो लागि मात्र होइन सम्पूर्ण नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन आफूले सकेको सहयोग र योगदान गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।