काठमाडौं, ५ असार । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा हात हालाहाल भएको छ । आइतबार तीनकुनेस्थित रोयल व्यांक्वेटमा तेस्रो केन्द्रीय समितिको बैठक बस्नुअघि विवाद सुरु भएको थियो ।
पदाधिकारी चयनमा असन्तुष्ट विद्यार्थी नेता पवन कार्कीको समूहले हलमा नाराबाजी गरेपछि तनाव सुरु भएको र हातहालाल नै भएको प्रत्यक्षदर्शी नेताहरुले बताएका छन् । विवादले उग्र रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बल प्रयोग गरेर बैठक स्थल खाली गराएको थियो ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भने संगठन भन्दा बाहिरका मान्छेहरु आएर हुलहुज्जत गरेकाले विवाद भएको भन्दै बैठक अब बस्न लागेको बताइन् । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । यद्यपि विवादपछि प्रचण्ड आउने वा नआउने टुंगो छैन ।
पदाधिकारी चयन उचित तरिकाले नभएको भन्दै अखिल क्रान्तिकारी भित्र नेता पवन कार्कीले समानान्तर गतिविधि अगाडि बढाइरहेका थिए । अनुशासनहीन काम गरेको भन्दै अखिल क्रान्तिकारीले कार्कीलाई संगठनबाट निलम्बन गरेको थियो ।
बढ्दो विवादबीच माओवादी नेताहरुले हस्तक्षेप गरेर मिलाउने कोसिस गरेका थिए । माअोवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले विवाद मिलाउन निर्देशन दिएपछि पदाधिकारी बैठक बसेर विवाद समानको कोशिस गरिएको थियो ।
दुई दिनको पदाधिकारी बैठकपछि विवाद मिलेको भन्दै अखिल क्रान्तिकारीले कार्कीमाथिको कारवाही फिर्ता लिएको थियो भने कार्कीले समानान्तर गतिविधि नगर्ने प्रतिवद्धता जनाएका थिए ।