काठमाडौं । यस्तै परिस्थिति रहिरहे उपेन्द्र यादव गठबन्धनबाट बाहिरिनुपर्ने हुनसक्छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसामु ठूलो संकट आएको छ । उनलाई पार्टीका बहुमत सांसदहरुले साथ छाडिसकेका छन् । यतिसम्मकी जसपाका बहालवाला मन्त्रीमध्ये अधिकांश उपेन्द्रको साथमा नहुने अवस्था विकास भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा जान ठिक्क परेको छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले ठाकुरसहित नेताहरु राजेन्द्र महतो र शरतसिंह भण्डारीसँग छलफल गरेका छन् । छलफलमा लोसपालाई सरकारमा सहभागी गराउनेबारे कुराकानी भएको बुझिएको छ ।
लोसपा सरकारमा सहभागी हुने भएपछि उपेन्द्र यादव बाहिरिने अवस्था विकास भइसकेको छ । यसै पनि उपेन्द्र यादवले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकटता बढाइसकेका छन् । यसप्रति देउवा असन्तुष्ट छन् । उनले बाबुराम भट्टराईलाई पनि डाकेर छलफल गरेका छन् । बाबुरामको समूहलाई सरकारमा सहभागी गराएर उपेन्द्र यादवलाई झड्का दिने गरी बालुवाटारमा तयारी भएको छ । यसकारण पनि उपेन्द्र यादवको समूह सरकारमा टिक्न मुश्किल पर्ने देखिइसकेको छ । तर, तत्काललाई उपेन्द्रको संकट देउवाले टारिदिएका छन् । बाबुरामले बहुमत नदेखाएसम्म देउवाको साथ उपेन्द्रलाई नै हुने देखिएको छ । यो लामो समय नरहन सक्छ । विकसित घटनाक्रमले महन्थ ठाकुर र बाबुराम भट्टराईबीच निकटता बढेको छ । उपेन्द्र भने गठबन्धनबाट बाहिर पुराइने गरी धक्का खान थालेका छन् । मन्त्री बन्न नपाएकाहरुले उपेन्द्रलाई थिलथिलो पारेका छन् ।