काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई कुनै हालतमा बिग्रन नदिने भएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसदको चुनावमा हराइछाड्ने गरी गठबन्धन कायमै रहने निकटस्थहरुसँगको छलफलमा स्पष्ट पारेका छन् । नेकपा एसको स्थानीय तहको चुनावमा आएको नतिजाप्रति पार्टीका नेताहरु असन्तुष्ट भएपनि माधव नेपालले थमथमाएका छन् । उनले ओलीलाई परास्त गरेरै छाड्ने बताएका छन् ।
नेकपा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको भन्दै बरु एमालेका इमान्दार नेता कार्यकर्ता एसमा आउने बताए । ‘उहाँहरु एकता चाहनुहुन्छ भने हाम्रो पार्टीमा स्वागत छ, तर केपी ओलीसँग हामीले एकता गर्ने प्रश्नै छैन,’ माधव नेपालले भनेका छन्,‘यसमा कसैले भ्रम नपाले हुन्छ ।’
एमालेमा रहेका योग्य र इमान्दार नेता कार्यकर्तालाई आफ्नो पार्टीमा आएमा स्वागत गरिने नेपालको भनाई छ । उनले गठबन्धन तोड्ने पक्षमा नभएको बताए । अहिलेको कमी कमजोरीलाई सुधारेर आगामी चुनावमा गठबन्धन बनाएरै जानुपर्ने बताए । मुलुकमा संविधानको रक्षा, प्रगतिशील रुपान्तरणको बाधक शक्तिलाई परास्त नगरी गठबन्धनको कार्यभार
पूरा नहुने नेपालको भनाई छ । उनले भने,‘हाम्रो मुख्य उद्देश्य भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको रक्षा र मुलुकको प्रगतिशील रुपान्तरण हो । त्यसको बाधक शक्तिलाई परास्त नगरी यो गठबन्धनको कार्यभार पूरा हुने छैन । त्यसैले अहिले जति एकता र सहकार्य हुन्छ, त्यो पाँच दलभित्र मात्रै हुन्छ, त्यसबाहेकका कुराहरु सबै भ्रम हुनु हल्लावाजी मात्रै हुन् ।’
माधव नेपाल ओलीलाई कमजोर बनाइछाड्नेमा दृढ छन् । तर, स्थानीय तहको चुनावले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको साइज घटाइदिएको छ । एक महानगरपालिका, एक उपमहानगरपालिकासहित एसले २० पालिका जितेको छ । त्यसो त नेकपा एमाले एक हुँदा २०७४ को चुनावमा २९४ मेयर तथा अध्यक्ष र ३३१ उपमेयर तथा उपाध्यक्ष जितेको थियो । एमाले फुटेर एस बन्दा कतिपय पालिकाका मेयर तथा उपमेयर, अध्यक्ष तथा उपाध्यक्ष विभाजित भएका थिए । फुट्दा गएका जति संख्या पनि एसले जित्न सकेन ।
आफूसँग भएका प्रतिनिधि सभाको सांसद बराबर पालिका पनि एसले जिताउन सकेन । यो माधव नेपाललाई ठूलो धक्का हो । यसकारण पनि एसका नेता तथा कार्यकर्ता असन्तुष्ट भइसकेका छन् । एसमा २३ सांसद छन् । सोम पाण्डेलाई समेत गन्दा २४ पुग्छ । तर, पालिकामा एसको २० सिट मात्र छ । २७५ सदस्यीय संसदमा माधव नेपाल नेतृत्वको नेकपा एसको २३ सांसद हुनु तर ७५३ पालिकामा नेकपा एसको त्यो भन्दा कम संख्या हुनुले कार्यकर्तालाई झस्काएको छ । उनीहरु पार्टी एकताको दबाब बढाइरहेका छन् । एसका सम्मानित नेता झलनाथ खनालले गठबन्धनबारे पुनः विचारको विषय उठाएका छन् । एमालेसँग पुनः एकताको सम्भावना औल्याएका छन् । तर, माधव नेपाल गठबन्धन कायमै राखेर ओलीलाई हराइछाड्ने रणनीतिमा छन् । एसको कम सिट आउनुमा पाएको पालिकामा जिताउन उसको आफ्नै कम मत हुनु र कतिपयमा गठबन्धनको दलको भनिएको मत नआउनु पनि कारण रहेको छ । विशेषगरी एसले मेयर वा अध्यक्ष उठाएको पालिकामा काँग्रेसबाट बागी उम्मेदवार उठ्नुले पनि धक्का परेको छ ।