ललितपुर, १६ चैत्र । नेपाली काँग्रेस महालक्ष्मी नगरपालिकाबाट मेयरका लागि तिव्र प्रतिष्पर्धा चल्न थालेको छ । मेयरमा दर्जनौं आकांक्षी देखिएका छन् । तर, मुख्य दाबेदार चार जना देखिएका छन् ।
महालक्ष्मीमा काँग्रेसमा लामो समययता राजनीति गर्दै आएका पवन विक्रम थापा र महेन्द्रदेव सिंह नै मुख्य दाबेदार छन् । थापा र सिंह दुवै जिल्ला सभापति जीतेन्द्रदेव श्रेष्ठको नजिक छन् । उनीहरुले श्रेष्ठलाई कठिन घडीमा साथ दिएका थिए । मेयरमा नवीन्द्रदेव सिंह र दिवाकर सिलवाल पनि दाबेदार देखिएका छन् । सिंह तरुण दलमा लामो समयदेखि सक्रिय छन् । सिलवाल महालक्ष्मीका नगर सभापति हुन् ।
यसैगरी, महालक्ष्मी नगरपालिकामा मेयर र उपमेयरमा दाबी गर्नेहरुको प्रतिष्पर्धा नै चलेको छ । तर, जिल्ला सभापतिमा जीतेन्द्र देव सिंह हुनु र काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा टिकट बाँड्दा प्रकाशमान सिंह हावी हुने देखिएकाले अरुलाई मुश्किल छ । सभापति शेरबहादुर देउवाले पनि बागमती प्रदेशका काँग्रेस सभापति इन्द्र बाँनियालाई प्रकाशमान सिंहले भनेबमोजिम गर्नु भन्ने निर्देशन दिएको विश्वस्त स्रोतले बताएको छ । यसैकारण पनि बागमती प्रदेश काँग्रेसको हेटौंडास्थित भवन उद्घाटनमा प्रमुख अतिथिका रुपमा प्रकाशमान सिंहलाई लगिएको थियो । सिंहले कठिन घडीमा आफूलाई साथ दिनेहरुलाई नै संरक्षण गर्ने भनेबाट निकटस्थहरु उत्साही भएको बुझिएको छ ।