काठमाडौं । सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । चुनावकै मुखमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व फेरिँदैछ । चुनाव सम्पन्न गराउन दुबै प्रहरी संगठनको मुख्य भूमिका हुन्छ ।
निर्वाचन हुनुभन्दा १० दिन पहिले नेपाल प्रहरीको नेतृत्व फेरिनेछ भने एक महिना पहिले सशस्त्र प्रहरीमा पनि नेतृत्व फेरिने छ ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजी) शैलेश थापासँगै डीआईजीमाथिका धेरैजसो पद रिक्त हुँदैछन् । वैशाख १९ गतेदेखि आईजीपी थापासँगै उनको ब्याचका १६ जनाले अवकाश पाउँदैछन् । ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउनेमा ३ एआईजी, १२ डीआईजी र एक एसएसपी छन् ।
२०४९ वैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनीहरु आउँदो वैशाख १८ गतेसम्म मात्रै प्रहरी सेवामा रहन्छन् ।
आगामी चैत २८ गते सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालको अवकाश हुँदैछ । उनी चार वर्षे कार्यकाल पुरा गरेर जान लागेका हुन् । उनकै ब्याची सशस्त्रमा हाल कायम दुवै एआईजी पनि त्यसको २१ दिनपछि अवकाशमा जान्छन् ।
आईजीपी गएको २१ दिनपछि अवकाश हुने पुष्पराम केसी र रामशरण पौडेल त्यसपछिको आईजीपी भएपनि चुनावसम्म रहँदैनन् । वैशाख १९ गतेबाट उनीहरु ३० वर्षे सेवाहदका कारण घर जानेछन् ।
नेपाल प्रहरीका हाल कायम ५ एआईजीमध्ये ३ र २० डीआईजीमध्य् १२ जना एकसाथ अवकाश हुँदैछन् ।
नेपाल प्रहरीको मूल नेतृत्वसँगै उपत्यका प्रहरी प्रमुख र ५ वटा प्रदेशका प्रहरी प्रमुख पनि चुनावअघि नै अवकाश हुँदैछन् । महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पाल अवकाशको नजिक छन् ।
अपराध अनुसन्धान विभाग प्रमुख एआईजी प्रद्युम्नकुमार कार्की र प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख एआईजी निरजबहादुर शाही पनि सोही समयमा अवकाश हुँदैछन् ।
यस्तै १२ डीआईजी अवकाश हुँदा ५ वटा प्रदेशका प्रहरी प्रमुख पनि निर्वाचन नजिकै रिक्त हुने अवस्थामा छन् । मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख वैशाख १८ मा विदा हुनेछन् ।
मधेस प्रदेशको प्रमुखमा उमेश रंजितकार, बागमतीका प्रकाशजंग कार्की, लुम्बिनी प्रकाश अधिकारी, कर्णाली गणेशबहादुर ऐर र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख पुरुषोत्तम कँडेलको कार्यकाल करिब अढाई महिना मात्रै छ ।
सोही ब्याचका डीआईजीहरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की, देवबहादुर बोहरा, वसन्त पन्त, सौरभ राणा, रामकृपाल साह र राजेशलाल कर्ण पनि अवकाश हुँदैछन् ।
यस्तै दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरीका काउन्सिलर एसएसपी वीरेन्द्रकुमार बस्यालको पनि ३० वर्ष यहीबेला पुरा हुँदैछ ।
दुवै प्रहरीमा भावी नेतृत्वका लागि लबिइङ र चलखेल सुरु भइसकेको छ ।
निर्वाचन आचारसंहिताका कारण सरुवाबढुवा गर्न नमिल्ने भए पनि निर्वाचन आयोगसँग अनुमति लिएर सरकारले अत्यावश्यक सरुवाबढुवा गर्न सक्छ ।
भावी नेतृत्वका लागि नेपाल प्रहरीमा हालका एआईजी विश्वराज पोख्रेल र सहकुलबहादुर थापा दाबेदार छन् । उनीहरु दुवैलाई केपी ओली नेतृत्वको सरकारले नेतृत्वमा पु¥याउनकै लागि एआईजीको दरबन्दी थप गरेर बढुवा गरेको थियो ।
सुरुमा विश्वराज पोख्रेल महानगरीय प्रहरी कार्यालयमा नयाँ दरबन्दी सिर्जना गरेर एआईजी बढुवा भए । तर पछि सहकुलबहादुर थापाले पनि ओली सरकारको मन जिते । उनलाई एआईजी बनाउनका लागि ओली सरकारले अपराध अनुसन्धान एवं कार्य विभाग फुटायो र थापाका लागि दरबन्दी थप ग¥यो ।
यही बीचमा सत्ता फेरबदल भयो । दुवै एआईजी हालको गठबन्धनका रोजाइका होइनन् । तर अहिलेसम्म विकल्प पनि छैन । विश्वराज पोख्रेल देउवा र कांग्रेससँग पहिल्यैबाट निकट छन् । नाता च्यापेर एमाले नेतृत्वको पनि मन जिते ।
भर्ना भएदेखि नै खासै अगाडि आउन नसकेका उनी एसएसपीबाट अपत्यारिलो पारामा अगाडि लागे । डीआईजीमा पनि २०७६ वैशाखमा उस्तैगरी एकल बढुवा भए । हालका आईजीपी थापाको ब्याचका वैकल्पिक पोख्रेलले १० महिना पहिले भर्ना भएको टोलीलाई समेत उछिने ।
२०७७ मंसिर १५ गते उनैका लागि भनेर सिर्जना गरिएको पदमा निर्विकल्प बढुवा मात्रै भएनन्, भावी आईजीपीको प्रतिस्पर्धाको बाटो नै बन्द गरेका थिए । तर उनलाई निर्विकल्प आईजीपी बनाउने कुरामा तत्कालीन सरकार एकमत भएन र थापालाई एआईजीमा बढुवा गरियो ।
अहिले कांग्रेससँग निकट रहेका पोख्रेल भावी आईजीपीका सबैभन्दा बलिया उम्मेदवार हुन् । उनी थापाभन्दा करिव एक वर्ष पहिले नै एआईजी भएकाले पनि उनको सम्भावना बलियो छ । तर सरकारले एआईजीमध्येबाट आईजीपी नियुक्त गर्न सक्ने व्यवस्थाका कारण पोख्रेल नै निर्विकल्प भने होइनन् ।
चुनावको कमाण्ड गरिरहेका एआईजी थापाको पनि सम्भावना कायम छ । त्यसो त सरकारले तीन जना एआईजी थप्ने तयारी गरिरहेको छ । सम्भवत आगामी साता सो निर्णय हुनसक्छ । थप हुने एआईजीबाट पनि आईजीपी बनाउने झिनो चर्चा छ ।
भर्ना हुँदैदेखिका एक नम्बर डीआईजी धिरजप्रताप सिंह सम्भावित उम्मेदवार हुन् । उनी हाल डीआईजीमै रहेकाले उनको अप्रत्याशित फड्कोको सम्भावना ज्यादै न्यून छ ।
१२ डीआईजीले अवकाश पाए पनि ८ डीआईजीहरु धिरजप्रताप सिंह, वसन्तकुमार लामा, उत्तमराज सुवेदी, रवीन्द्रबहादुर धानुक, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह २०७९ चैतसम्म कार्यरत रहनेछन् ।
त्यसैगरी, सशस्त्र प्रहरीका २ एआईजी र आईजीपी २१ दिनको फरकमा चुनावअघि नै अवकाश हुने भएकाले नयाँ नेतृत्व आउने निश्चित छ । आईजीपी खनाल चैत २८ मा अवकाश हुनेछन् भने एआईजी केसी र पौडेल वैशाख १९ मा । तर त्यो बीचको २१ दिनका लागि सकेसम्म आईजीपी नियुक्त नगर्ने सरकारको तयारी रहेको गृहश्रोत बताउँछ ।
यदि केसी र पौडेल मध्येबाट एक आईजीपी नियुक्त भए पनि वैशाख १९ सम्मका लागि मात्रै हो । त्यसपछिको आईजीपी हालका डीआईजीहरु राजु अर्याल, नारायण दत्त पौडेल र चन्द्रप्रकाश गौतम मध्येबाट हुन्छन् । यीमध्ये अर्यालको सम्भावना सबैभन्दा बढी छ । उनी वरीयतामा पनि अगाडि छन् ।
त्यसो त प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणसँग पनि उनको सम्बन्ध राम्रो छ । उनैलाई नेतृत्व दिने सम्भावना बढी देखिएको गृह श्रोत बताउँछ । डीआईजी नारायणदत्त पौडेलले पनि भावी आईजीपीका लागि लबिइङ सुरु गरेका छन् । उनको पनि कांग्रेस नेताहरुसँग सम्बन्ध राम्रो छ ।
तर, सरकारले सशस्त्र प्रहरीमा एक जना एआईजी थप्ने गृहकार्य गरिरहेको छ । तत्काल एआईजी थप भए वैशाख १९ पछिको आईजीपी उसैको सुनिश्चित हुनेछ, जसलाई सरकारले थप गरिएको एआईजीमा बढुवा गर्नेछ ।
तर, आगामी चुनावमा भने सशस्त्र प्रहरीमा पनि सबै एआईजी र आईजीपी भने नयाँ नै हुने निश्चित छ ।