‘म मदनकृष्ण’को सेटमा भावुक भए मदनकृष्ण

1.1k Shares

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको सिनेमाको पहिलो चरणको छायांकन सकिएको हो ।
पहिलो सेड्युलको छायांकनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठ आफैँ सेटमा बसेका छन् । उनले सेटमा बसेर प्रत्येक सिनको अवलोकन गरेका छन् । आवश्यक सुझाव समेत उनले दिएका छन् ।
“उहाँ आफ्नो जीवनीमा बनेको सिनेमाको छायांकन हेरेर निकै भावुक पनि हुनु भएको छ । उहाँ सिनेमाको काम देखेर सन्तुष्ट पनि हुनुहुन्छ,” निर्देशक मिलन चाम्सले भने, “जसको कथामा सिनेमा बनिरहेको छ, उहाँ स्वयं सेटमा हुँदा हामीलाई थप सहज पनि भएको छ ।”
दोस्रो चरणको छायांकन दसैँ लगत्तै सुरु हुने निर्देशक चाम्सले जानकारी दिएका छन् ।
‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गरिरहेका छन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
अरुण क्षेत्री हरिवंश आचार्यको रोलमा देखिनेछन् । हरिवंश मदनकृष्णको कलाकारिताको जोडी हुन् । यो जोडीलाई मह जोडीको नाम दिइएको छ ।
अरुणको अपोजिटमा वर्षा राउत देखिनेछिन् । उनले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गरिरहेका छन् । चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका छन् ।
चलचित्र ‘म मदनकृष्ण’ चैत ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।  
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ ।
चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, विनोद न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहनेछ । बाल कलाकारमा जेविस र जेविन श्रेष्ठ छन् ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।
पदम बहादुर श्रेष्ठ (बाबु श्रेष्ठ)को डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन रहेका छन् ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र काठमाडौं बाहिर रोहित कट्टले र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ ।

सम्बन्धित समाचार