बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सडक सञ्जालको सम्पर्कबाट बाहिर

761 Shares

काठमाण्डौ – बाढीपहिरोका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सडक सञ्जालको सम्पर्कबाट बाहिर पुगेका छन् । बागलुङ, म्याग्दी र मुस्ताङबाट गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

सिद्धार्थ राजमार्गको कुश्मा–मालढुंगा खण्डमा कालीगण्डकीको बाढीले कटान गरेपछि ती तीन जिल्ला केन्द्रीय सडक सञ्जालबाट बाहिर पुगेको छ । बाढीले पर्वत र बागलुङलाई जोड्ने मालढुंगा पुल पनि भत्काएको छ ।

पहिरोले बेनी–जोमसोम–कोरला सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएपछि मुस्ताङको अरु जिल्लासँग सडक सम्पर्क टुटेको छ । म्याग्दीको बेनीदेखि दरवाङसम्म पुग्ने सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ । बागलुङमा मध्यपहाडी राजमार्गको विभिन्न खण्ड तथा कालीगण्डकी करिडोरको मालढुंगा–बेनी–जोमसोम–कोरलाखण्ड पनि अवरुद्ध छ ।

पूर्वी नवलपरासीको घुमाउरी घाट र बागलुङको जैमनीमा पनि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । संघीय राजधानी काठमाण्डौ जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग, कान्ति लोकपथ र काठमाण्डौ–फाखेल–हेटौँडा सडक पनि अवरुद्ध छ । त्यस्तै, दक्षिणकाली–सिस्नेरी–हेटौँडा सडक पनि अवरुद्ध छ ।

त्रिभुवन राजपथ भने एकतर्फी सञ्चालनमा छ । बन्द रहेका मुख्य राजमार्ग र सडकखण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ । पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम भैरहेको छ । पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गएराति बेनीघाट नजिकै अर्को पहिरो खसेको छ ।

पहिरो हटाएर आज दिउँसोपछि गाडी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ । तर कृष्णभीरमा जोखिम कायमै रहेकाले एकपटक राम्रोसँग हेरेर मात्रै गाडी सञ्चालनमा ल्याउने तयारी छ । बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भैरहेको, तर सडक कहिले खुल्छ भन्ने यकिन भैनसकेको काभ्रे प्रहरीले जनाएको छ । मुग्लिन–नारायणगढ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ । 

सम्बन्धित समाचार