काठमाण्डाै – ठूलाे बाढी आएपछि नारायणी नदी पुलमा गाडी सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुलमा गाडी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
आज दिउँसो केही समयका लागि पुलमा पूर्णरूपमा गाडी सञ्चालनमा रोक लगाइएकामा अहिले मोटरसाइकललाई मात्र छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । पुल पुरानो भएको र अत्यधिक हल्लिएपछि ठूला गाडी पूर्ण रूपमा रोक लगाइएको उहाँले बताउनुभयो ।
सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमाथि रोकिएर पैदलयात्रीलाई तस्वीर, भिडियाे खिच्न रोक लगाइएको पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकल बाहेकका गाडीलाई गैँडाकोटमा र नवलपुरतर्फ आउने गाडीलाई चितवनको नारायणघाटमा रोकिएको छ ।
नदीमा पानीको बहाव घटेपछि गाडी पूर्णरूपमा सञ्चालन गर्न दिइने प्रहरी नायब उपरीक्षक पण्डितले बताउनुभयो ।
देवघाटमा रहेकाे जलमापन केन्द्रका अनुसार दिउँसो १ बजेर ५० मिनेटमा नारायणी नदीमा पानीको सतह ११ दशमलव ९१ मिटर पुगेको थियो । केन्द्रमा ७ दशमलव ३ मिटर पानीको सतहलाई चेतावनीको तह र ९ मिटरलाई खतराको तह मानिन्छ ।
नारायणीमा पानीको बहाव बढ्दै गएपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन् ।