काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’मा अमरप्रताप श्रेष्ठ को प्रवेश भएको छ । निर्देशक सौरभ चौधरीले आफ्नो नयाँ चलचित्र ‘साम्राज्य’मा अमरलाई अनुबन्ध गराएका हुन् ।
सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइलीको प्रवेशपछि अमरले यो सिनेमामा प्रवेश गरेका छन् ।
यो सिनेमाका लागि भनेरै अमरले साढे २ वर्षदेखि तालिम लिइरहेको निर्देशक सौरभ बताउँछन् । “साढे दुई वर्षदेखि मेरो सल्लाहमा अमरले एक्टिङ, एक्सन, मार्सल आर्ट र डान्सको ट्रेनिङ उहाँले गर्नुभएको छ,” उनले भने, “एउटा सिनेमाका लागि साढे २ वर्षदेखि तयारी गर्नु भनेको सानो लगाव र डेडिकेसन होइन ।”
तयारी र तालिमले नै उनले मुख्यमध्ये एक भूमिकामा अवसर पाएको सौरभले बताए ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र मल्टिस्टार बन्ने भएको छ ।
‘एपिक एक्सन ड्रामा’ हुने यो चलचित्रमा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन् ।
सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा सिनेमा बनाउने योजनामा छन् । यो नेपाली चलचित्रकै ठूलो स्केलको एक्सन सिनेमा हुने निर्माण पक्षको दाबी छ ।
चलचित्रको केही समयपछि छायांकनमा जाने तयारीमा छ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।
यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।
मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ ।