ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

529 Shares

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आज विज्ञप्ति निकालेर चलचित्र ‘तिनीहरू’ लाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरेकाे जानकारी दिएको हो ।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नुभएको विज्ञप्तिअनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट २ वटा नेपाली कथानक चलचित्र ‘तिनीहरू’ र ‘गौँथली’ प्राप्त भएका थिए ।

यी २ मध्ये एकेडेमीको मापदण्डअनुरूप उत्कृष्ट चलचित्र छनोट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको हो । चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरिएको गहन अध्ययनपछि ‘तिनीहरू’ लाई उत्कृष्ट ठहर गर्दै छनोट गरेको समितिले जनाएको छ ।

यस छनोटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ ।

यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहले नेपालबाट ओस्कर अवार्डमा सिफारिश भएको र एशिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाई तथा शुभकामना दिनुभएको छ । शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ ।

अविनाशविक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ । सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरिसकेको छ ।

सम्बन्धित समाचार