‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ले उत्कृष्ट सुरुवात गर्दै

355 Shares

काठमाडौं । ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ले उत्कृष्ट सुरुवात गर्दै बक्सअफिसमा राम्रो सम्भावना देखाएको छ । शनिबार दिनभरको वर्षा र रसुवा भोटेकोसी बाढीको अवरोधबीच सिनेमा घरहरूमा दर्शकको उच्च फ्लो देखिएको छ ।

शनिबार काठमाडौंका अधिकांश शोमा उच्च अकुपेन्सी हुँदा एक दर्जनभन्दा धेरै शो हाउसफूल भएका थिए । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमाले उत्कृष्ट प्रतिक्रिया पाउँदा शनिबार त्यसको सकारात्मक असर हलमा देखिएको थियो ।

चलचित्रका जानकार तथा मेकरहरूले सिनेमाको उच्च प्रशंसा गर्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहँदा त्यसको असर हलमा देखिन सुरु भएको छ ।

“वर्षा र बाढीको त्रास र प्रभावका बीच पनि शनिबार हलमा दर्शकको अकुपेन्सी धेरै देखियो । यो हाम्रा लागि सुखद पक्ष हो,” निर्देशक अभिनाश विक्रम शाहले भने, “यो प्रतिकूल समयमा पनि दर्शकको साथले हामी उत्साहित छौँ ।”

वर्ड अफ माउथ राम्रा पाउँदै जाँदा सिनेमा हलमा दर्शकको संख्या पनि थपिँदै जानेमा उनी ढुक्क छन् । “अधिकांश दर्शकले सिनेमालाई राम्रो भन्नु भएको छ,” उनले भने, “यसको प्रभाव आगामी दिनमा पक्कै पनि देखिनेछ भन्ने हाम्रो विश्वास छ ।”

कान्सलगायत विश्वका ठूला इन्टरनेसनल फिल्म फेस्टिभलहरूमा पुगेर अवार्ड समेत जितिसकेको अविनाश विक्रम शाहले निर्देशन गरेको चलचित्रमा जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा छ ।

चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ । चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।

चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माता आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।

सम्बन्धित समाचार