फेवातालमा कार खस्दा दुई जनाको ज्यान गयो, दुई जनाको उद्धार

442 Shares

काठमाण्डाै – कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारा फेवातालमा आज बिहान भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको ज्यान गएको छ । दुई जनालाई सकुशल उद्धार गरिएको छ ।

बीआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खसेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा गोताखोरसहितको टोली खोज तथा उद्धारमा खटिएको थियो ।

भारत घर भएका २६ वर्षीय नवदीपकुमार यादव र अर्का २६ वर्षीय प्रियान्सु पाण्डेलाई गोताखोरले तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो । उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

कारमा रहेका भारत घर बताउने २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पोखराको जीएमसी अस्पताल पठाएका छन् । दुवै जनाको अवस्था मध्यम रहेको छ ।

तालमा खसेको कारलाई क्रेनको सहायतामा बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार