विश्व। कृत्रिम बुद्धिमत्ता अर्थात् (एआई) को बढ्दो प्रयोगले विद्यार्थीको गृहकार्य छिटो र सहज बनाइरहे पनि उनीहरूको वास्तविक सिकाइ र परीक्षाको नतिजामा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ ।
चीनमा १२ देखि १८ वर्ष उमेर समूहका झण्डै २७ हजार विद्यार्थीमा ३० महिनासम्म गरिएको अध्ययनले एआई प्रयोगपछि गृहकार्यको अंकमा १८ प्रतिशतले वृद्धि भए पनि बन्द किताबमा दिइने परीक्षामा विद्यार्थीको प्रदर्शन २० प्रतिशतले घटेको देखाएको हो ।
स्टकहोम विश्वविद्यालयका डेभिड स्ट्रोमबर्ग तथा हङकङ विश्वविद्यालयका भिक्टर लेई र यानहुई वुले गरेको अध्ययनमा नौ विषयमा विद्यार्थीको गृहकार्य, मासिक परीक्षा र प्रवेश परीक्षाको नतिजा विश्लेषण गरिएको थियो ।
अध्ययनअनुसार एआईको प्रयोगपछि एउटा गृहकार्य पूरा गर्न लाग्ने औसत समय ६४ मिनेटबाट घटेर ४५ मिनेटमा झरेको थियो । तर एआईको सहयोगबिना परीक्षा दिँदा विद्यार्थीको प्रदर्शन कमजोर भएको पाइएको छ ।
एआई प्रयोग शुरु गरेको ६ महिनाभित्र मासिक परीक्षामा विद्यार्थीको अंक २० प्रतिशतले घटेको थियो भने उच्च प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा पनि नतिजा कमजोर देखिएको थियो ।
आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को ‘डिजिटल एजुकेसन आउटलुक २०२६’ ले पनि एआईलाई शिक्षणका लागि संरचित रूपमा प्रयोग नगरी विद्यार्थीले आफ्ना काम एआईलाई जिम्मा दिँदा कार्यसम्पादनमा सुधार देखिए पनि वास्तविक सिकाइमा उल्लेख्य वृद्धि नहुने निष्कर्ष निकालेको छ ।
अनुसन्धानकर्ताहरूले यस अवस्थालाई आफ्नै सोच र सिकाइ प्रक्रियामा कम मेहनत गर्ने प्रवृत्तिसँग जोडेर व्याख्या गरेका छन् ।