काठमाडौं । चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रमा हिलोको लेदोले प्रभावित केरुङ बन्दरगाह जाने प्रमुख राजमार्ग चिनले खुलाई सञ्चालनमा ल्याएको छ भने नेपालले कहिले बनाउला भन्ने प्रश्न उठेको छ ।
चौबीसै घण्टा गरिएको उद्धार प्रयासपछि बुधबार बिहान जी–२१६ राष्ट्रिय राजमार्ग खुलाइएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ।
चाइना मिडिया ग्रुप सीएमजीका पत्रकारहरूले केरुङ बन्दरगाहबाट दिएको विवरणअनुसार राजमार्ग खुलेसँगै ठूला सवारीसाधन र भारी उद्धार उपकरणलाई विपद्को मुख्य क्षेत्रमा पुर्याउन सम्भव भएको छ।
यससँगै अझै सम्पर्कविहीन रहेका व्यक्तिको खोजी तथा उद्धारलाई थप व्यापक र गहिराइमा अघि बढाइने जनाइएको छ। नेपालमा गत हप्ता गएको बरफ–चट्टानको हिमपहिरोका कारण चीनको केरुङ बन्दरगाह क्षेत्रमा ठूलो हिलोको लेदो बगेको थियो।
चिनियाँ अधिकारीहरूका अनुसार शनिबार साँझ ६ बजेसम्म उक्त घटनामा १६ चिनिया नागरिकको मृत्यु भएको छ भने ५४६ जना अझै बेपत्ता छन्। विपद्पछि चिनियाँ अधिकारीहरूले व्यापक उद्धार अभियान सञ्चालन गरेका छन्।
हेलिकप्टरमार्फत केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुर्याइएका तिब्बत सीमा प्रहरीसहितका उद्धारकर्मीले कठिन परिस्थितिका बाबजुद खोजीकार्य जारी राखेका छन्।
तिब्बतको सिगात्से सीमा नियन्त्रण टुकडीका प्रहरी अधिकारी ये यीले सीजीटीएनसँग भने, ‘हामी खोजीलाई तीव्र बनाउनेछौँ। हामी हार मान्ने छैनौँ, कसैलाई त्यसै छोड्ने छैनौँ र अझै सम्पर्कविहीन रहेकाहरूलाई खोज्न आफ्नो क्षमताले भ्याएसम्म सबै गर्नेछौँ।’
तर कठिन भूगोल, प्रतिकूल मौसम र विपद्को ठूलो प्रभावका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको छ। विज्ञहरूका अनुसार तीव्र ढलान, हिलो बग्ने उच्च गति र साँघुरो खोँचका कारण विपद्को प्रभाव थप विनाशकारी बनेको हो । उद्धारकर्मीका अनुसार केही स्थानमा हिलो घुँडासम्म र कतिपय ठाउँमा कम्मरसम्म पुगेको छ।
बाक्लो हिलोका कारण उद्धार टोलीको आवतजावतमा समस्या भएको र सामान्यतया प्रयोग गरिने केही खोजी उपकरणको प्रभावकारिता पनि घटेको जनाइएको छ। यद्यपि उद्धार टोलीले विभिन्न माध्यमबाट खोजी जारी राखेको छ। जमिनमा खटिएका टोलीले जीवनको कुनै संकेत छ कि भनेर एक–एक इन्च क्षेत्र खोजिरहेका छन्।त्यस्तै, दुईवटा तालिमप्राप्त खोजी कुकुर विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। यसका साथै भग्नावशेषमुनि पुरिएका मानिसको सम्भावित स्थान पहिचान गर्न जीवन पत्ता लगाउने अत्याधुनिक उपकरणसमेत प्रयोग भइरहेको उद्धार टोलीले सीएमजीलाई जनाएको छ।
उद्धारकर्मीका अनुसार पछिल्ला केही दिनमा बन्दरगाह क्षेत्रको सतही भागको खोजी पूरा गरिएको छ र माथिल्लो तहलाई धेरै पटक छानबिन गरिसकिएको छ। अब सडक खुलेसँगै भारी उपकरणको पहुँच बढेकाले गहिरो तहमा समेत खोजीलाई थप तीव्र बनाउने तयारी गरिएको छ।