काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाका सुरुङबाट तत्काल उद्धार गर्न नसकिनुको कारणबारे संसदमा प्रष्टीकरण दिएका छन् । नेपालमा अहिले आएको विपत् मानवीय सभ्यताकै ठूलो भएको र टनेलको समस्या पनि अन्यत्र भन्दा फरक रहेको उनले बताए ।
शाहले टनेलहरुभित्र बाढीमात्र नभएर माटो र लेदो पसेर पूर्णरुपमा थुनिएको हुँदा उद्धार गर्न कठिन भएको उल्लेख गरे । यस्तोमा तत्काल उद्धार गर्ने प्रविधि विश्वमै नभएको उनको भनाइ छ ।
शाहले भने, ‘हाम्रो टनेलमा आएको विपत् विशेष किसिमको छ । विश्वभरि पाइने एक्सपर्टहरूले पहिरो पन्छाएर उद्धार गर्ने गरेका छन् । तर यहाँ पहिरो खसेको होइन । बाढीसँगै हिलो माटोले पूर्णरुपमा टनेलहरु थुनिएका छन् । यससम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन । हामीसँग पनि छैन । तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन ।’
टनेल बाहिर हिरो लेदो भएकाले आर्मी र प्रहरी अडिन पनि मुस्किल अवस्था रहेको उनले प्रष्ट्याए । ‘लेदोमा आर्मी र सशस्त्र प्रहरी पनि अडिन सक्ने ठाउँ थिएन । उहाँहरूले सुतेर पुग्ने प्रयास गर्नुभयो । एक्साभेटर र हेलिकोप्टर पनि राख्न सकिने थिएन । त्यो अडिने ठाउँ भएपछि मात्रे त्यहाँ सुरु गरिएको हो,’ उनले भने ।