बाढी प्रभावित क्षेत्रका धेरै ठाउँमा विद्युत् र सञ्चार सेवा पुनः स्थापना

500 Shares

काठमाण्डौ - बाढी प्रभावित जिल्लामा अवरुद्ध भएको विद्युत् पुनः स्थापना भइरहेको ऊर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार बाढी प्रभावित रसुवाको कालिकास्थान, नौकुण्डको केही भाग गोसाईंकुण्ड गाउँपालिकाको वडा ५ र ६ का केही भाग गरेर सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुगिसकेको छ । साथै आमाछोदिङ गाउँपालिकाका केही भागमा सान्जेन जलविद्युत् आयोजनाको प्रणालीबाट विद्युत सञ्चालनको तयारी भइरहेको छ ।

जिल्लाका बाँकी भागमा घरायसी सोलारमार्फत विद्युत् सेवाका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको छ । नुवाकोटमा विद्युत् सेवा प्रभावित भएकामध्ये अहिलेसम्म ८५ प्रतिशत क्षेत्रमा विद्युत् पुनः स्थापना भइसकेको छ । बाँकी १५ प्रतिशत क्षेत्रमा पाँच दिनभित्र विद्युत् सेवा उपलब्ध गराउने गरी काम भइरहेको छ । मन्त्रालयका अनुसार धादिङका पृथ्वी राजमार्गको दायाँबायाँको क्षेत्र (गजुरी, आदमघाट, मलेखु, जहरे, मौवा खोलासम्म) प्रभावित भएकामा आमदघाटको केही क्षेत्रबाहेक धादिङको सम्पूर्ण क्षेत्रमा ९८ प्रतिशत विद्युत् सेवा पुनः स्थापना भइसकेको छ ।

अबको दुई दिनमा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनः स्थापना हुने गरी काम भइरहेको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार सञ्चार सेवा पनि धेरै ठाउँमा पूरा भइसकेको छ । नेपाल टेलिकमका १२० बिटिएसमध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावरले सेवा प्रवाह शुरु गरिसकेका छन् ।

सम्बन्धित समाचार