काठमाडौँ । अमेरिका र दक्षिण कोरियाले आगामी संयुक्त सैन्य अभ्यासमा रुस–युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर तयारी गरिरहेका बेला प्योङयाङले त्यसको जवाफमा ‘नयाँ स्तरको प्रतिरोध’ अपनाउने चेतावनी दिएको छ।
सोमबार सुरु हुने ११ दिने ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यासमध्ये एक हो।
आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु अभ्यासको मुख्य उद्देश्य हो। प्योङयाङले भने यस्ता अभ्यासलाई लामो समयदेखि आफूविरुद्ध हुने आक्रमणको पूर्वाभ्यास भन्दै विरोध गर्दै आएको छ।
यसै क्रममा उत्तर कोरियाले यसै साता जापानको सागरमा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। उक्त परीक्षणलाई आगामी संयुक्त सैन्य अभ्यासप्रतिको असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।
यस वर्षको अभ्यासमा ड्रोन, साइबर आक्रमण र जीपीएस जामिङलगायत आधुनिक युद्धमा प्रयोग हुने क्षमतासँग सम्बन्धित प्रशिक्षणलाई विशेष महत्त्व दिइएको छ।
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सैनिकको तैनाथीबाट प्राप्त युद्ध अनुभवलाई समेत ध्यानमा राखेर दक्षिण कोरिया र अमेरिकी सेनालाई सम्भावित नयाँ खतरासँग जुध्न सक्षम बनाउने उद्देश्यले अभ्यास सञ्चालन गर्न लागिएको हो।
उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार जारी गरेको विज्ञप्तिमा अमेरिकाले आगामी अभ्यास पाँच वर्षका अभ्यासभन्दा निकै फरक हुने र आधुनिक युद्धका नयाँ पक्षका आधारमा युद्ध क्षमतामा दक्षता हासिल गर्ने उद्देश्य राखेको जनाएको उल्लेख छ।
प्योङयाङको कोरियन सेन्ट्रल न्युज एजेन्सी ९केसीएनए० ले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ स्तरको खतरालाई नयाँ स्तरको प्रतिरोधमार्फत जवाफ दिनु सुरक्षा सुनिश्चित गर्ने हाम्रो सुसंगत सिद्धान्त हो।’
उत्तर कोरिया लामो समयदेखि विश्वकै सबैभन्दा अलगथलग मुलुकमध्ये एक हो। तर सन् २०२२ मा रुसले युक्रेनमा पूर्णस्तरीय आक्रमण सुरु गरेपछि प्योङयाङ र मस्कोबीच सैन्य तथा रणनीतिक सम्बन्ध निकै घनिष्ठ बनेको छ।
विश्लेषकहरूका अनुसार आर्थिक लाभ र सैन्य प्रविधिसहितको सहयोगको बदलामा उत्तर कोरियाले रुसको युद्धमा आफ्ना सैनिक पठाएको छ। यसै साता युक्रेनले रुसले उत्तर कोरियाबाट प्राप्त ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको आरोप लगाएको थियो।
त्यस्ता क्षेप्यास्त्र प्रहारबाट कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको युक्रेनी पक्षको दाबी छ। किएभले हालै रुसमा करिब ५० हजार उत्तर कोरियाली सैनिक तैनाथ रहेको दाबीसमेत गरेको छ । यद्यपि उक्त दाबी पुष्टि हुने प्रमाण भने उसले सार्वजनिक गरेको छैन।