काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले देशभरका सार्वजनिक संस्था तथा सरकारी निकायमा भइरहेको हस्तक्षेपप्रति प्रश्न उठाएका छन् ।
उनले सेना, प्रहरी र कर्मचारीको ‘हुर्मत लिने’ काम भइरहेको भन्दै सरकारको सुशासन र समृद्धिको रोडम्यापमाथि प्रश्न गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सिंहले सांसदहरूको अभिव्यक्तिका कारण संसदकै गरिमामाथि प्रश्न उठ्ने अवस्था आएको टिप्पणी गरेका छन् । त्यस्तै, व्यापारीहरूको धरपकडका कारण व्यवसायीहरू त्रसित रहेको उनको भनाइ छ ।
‘देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ,’ सिंहले लेखेका छन्, ‘सांसदहरूको वक्तव्य यस्तो कि सम्मानित संसदकै बेइज्जती भइरहेको छ ।’
उनले व्यापारीहरूको धरपकडप्रति पनि प्रश्न उठाएका छन् । ‘व्यापारीहरूको धरपकडले व्यापारीहरू त्रसित छन्,’ उनले भनेका छन् ।
सिंहले सरकारको परराष्ट्र नीतिमाथिसमेत प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय स्तरमा विश्वासको संकट (ट्रस्ट डेफिसिट) देखिएको टिप्पणी गरेका छन् ।
‘परराष्ट्र नीति त झन् यस्तो कि कसैले विश्वास गरिरहेको छैन (Trust deficit),’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यी सबै गतिविधिले देशलाई समृद्धि र सुशासनतर्फ लैजानेभन्दा राज्यलाई थप पछाडि धकेल्ने काम भइरहेको हो कि भन्ने प्रश्न सिंहले गरेका छन् ।
‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ रु सोच्ने बेला भएको छैन ?’ उनले प्रश्न गरेका छन् ।
सिंहको भनाइ जस्ताको तस्तै
देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ। सांसदहरूको वक्तव्य यस्तो कि सम्मानित संसद्कै बेइज्जती भइरहेको छ। व्यापारीहरूको धरपकडले व्यापारीहरू त्रसित छन्। परराष्ट्र नीति त झन् यस्तो कि कसैले विश्वास गरिरहेको छैन (Trust deficit)। के समृद्धि र सुशासनको रोडम्याप यही हो रु कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छरु सोच्ने बेला भएको छैनरु