काठमाडौं । छ महिनाअघिसम्म खाडी देशहरूका लागि तेल बेच्न निकै सहज थियो। सबैभन्दा कम लागतमा तेल निकाल्ने होर्मुज स्ट्रेटको बाटो हुँदै विश्वभर पुर्याउने र सबैभन्दा बढी मूल्य दिने देशहरूलाई बेच्ने । तर इरानसँगको युद्धपछि यो व्यापारिक मोडल फेरिएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि होर्मुज स्ट्रेटबाट हुने तेल ढुवानी लगातार प्रभावित भइरहेको छ। समुद्री बारुदी सुरुङ, मिसाइल र ड्रोन आक्रमणको खतरा, अमेरिका र इरानको नाकाबन्दी तथा बढेको बिमा लागतका कारण यस बाटोबाट हरेक दिन आवतजावत हुने कच्चा तेल २ करोड ब्यारेलबाट घटेर ३७ लाख ब्यारेलमा सीमित भएको छ।
यसैकारण साउदी अरब, युएई र कुवेतसहित धेरै खाडी देशहरू अब होर्मुजमाथिको निर्भरता कम गर्न लागिपरेका छन्। नयाँ पाइपलाइनहरू बिछ्याइँदै छन्, पुराना लाइनहरूको क्षमता बढाइँदै छ र एसियामा तेल भण्डारण तयार गरिँदै छ।
यस परिवर्तनको सबैभन्दा ठूलो उदाहरण युएई हो। यूएईको अर्थतन्त्र धेरै हदसम्म व्यापार र समुद्री मार्गहरूमा निर्भर छ। तर होर्मुज सङ्कटको सबैभन्दा बढी असर पनि उसैलाई परेको छ। त्यसैले अब युएईले यस्ता नयाँ बाटाहरू तयार गरिरहेको छ, जहाँबाट व्यापार र तेल निर्यात होर्मुज स्ट्रेटमा निर्भर नहोस्।
अहिले यूएईले विकल्पमा मूलतः तीन काम गरिरहेको छ( नयाँ पाइपलाइन निर्माण, क्षमता विस्तार र ग्यास व्यापारमा लगानी ।
ओमानको खाडी किनारमा अवस्थित फुजैरामा दोस्रो तेल पाइपलाइनको काम द्रुत गतिमा भइरहेको छ। यो पाइपलाइनले आबुधाबीका तेल क्षेत्रहरूलाई सिधै फुजैरासँग जोड्नेछ, जसले गर्दा ट्याङ्करहरूलाई होर्मुजबाट गुज्रिनुपर्ने बाध्यता हट्नेछ।
आयोजना पूरा भएपछि होर्मुज स्ट्रेटलाई ‘बाइपास’ गरेर तेल निर्यात गर्ने युएईको क्षमता बढेर दैनिक ३६ लाख ब्यारेल पुग्नेछ। अर्थात् आबुधाबीको लगभग सम्पूर्ण ‘अनसोर’ तेल होर्मुज स्ट्रेटमा प्रवेश नगरी सिधै अन्तर्राष्ट्रिय बजारमा पठाउन सकिनेछ। अनसोर तेल भन्नाले जमिनमा रहेका तेल क्षेत्रबाट निकालिएको कच्चा तेल हो, जबकि अफसोर तेल समुद्रभित्रका कुवाबाट निकालिन्छ।
युएईले तेल मात्र नभई ग्यास व्यापारलाई पनि सुरक्षित बनाउन लागिपरेको छ। यसको सरकारी कम्पनी एडनोकले प्राकृतिक ग्यास परियोजनाहरूमा ८।२ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ।
साथै, पूर्वी तटमा नयाँ एलएनजी निर्यात टर्मिनल बनाउने योजना छ, ताकि भविष्यमा ग्यास निर्यात पनि होर्मुज स्ट्रेटमा कम निर्भर होस्।
साउदी अरबले रेड सीलाई बनायो नयाँ बाटो
होर्मुज स्ट्रेटमा बढ्दो खतरापछि साउदी अरबले आफ्नो १,२०१ किलोमिटर लामो ‘इस्ट(वेस्ट पाइपलाइन’ को प्रयोग तीव्र रूपमा बढाएको छ। सन् १९८० को दशकमा इरान(इराक युद्धको समयमा बनेको यो पाइपलाइनले देशका पूर्वी तेल क्षेत्रहरूलाई रेड सीको यान्बु बन्दरगाहसँग जोड्छ।
अब साउदी अरबले यही पाइपलाइनमार्फत दैनिक ७० लाख ब्यारेल कच्चा तेल रेड सीको बाटो हुँदै विश्व बजारमा पठाइरहेको छ। सरकारले यसको क्षमतामा दैनिक १० देखि २० लाख ब्यारेल थप गर्ने तयारी गरिरहेको छ।
साथै, प्रशोधित पेट्रोलियम पदार्थका लागि समानान्तर नयाँ पाइपलाइन बनाउने काम पनि भइरहेको छ।
कुवेत र इराक पनि नयाँ बाटोको खोजीमा
कुवेतः कुवेतले साउदी अरब र अन्य अरब देशहरूसँग मिलेर आफ्नो तेल क्षेत्रलाई रेड सी वा ओमानका बन्दरगाहहरूसँग जोड्ने पाइपलाइन निर्माणबारे छलफल गरिरहेको छ।
इराकः इराक र जोर्डनले वर्षौँदेखि रोकिएको पाइपलाइन परियोजना पुनः सुरु गरेका छन्। यसबाट दैनिक १० लाख ब्यारेलसम्म तेल रेड सीको अकाबा बन्दरगाहसम्म पठाउन सकिनेछ।
इराकले किर्कुकबाट सिरियाको भूमध्यसागरीय तटसम्म जाने क्षतिग्रस्त पाइपलाइनको मर्मत कार्य पनि तीव्र पारेको छ।
भारत, जापान र दक्षिण कोरियामा तेल भण्डारण
खाडी देशहरूको रणनीति नयाँ पाइपलाइन निर्माणमा मात्र सीमित छैन। उनीहरू भारत, जापान र दक्षिण कोरिया जस्ता देशहरूमा अतिरिक्त तेल भण्डारण पनि तयार गरिरहेका छन्।
भविष्यमा होर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द भइहाले पनि, प्रमुख बजारहरूमा तेल पहिले नै मौज्दात रहोस् र आपूर्ति नरोकियोस् भन्ने उनीहरूको मुख्य उद्देश्य हो।
सुरक्षित छैनन् नयाँ बाटाहरू पनि
यद्यपि, होर्मुजको विकल्प पनि पूर्ण रूपमा सुरक्षित भने छैन। साउदीको धेरैजसो तेल अहिले रेड सी र बाब अलमन्देब स्ट्रेटबाट पठाइरहिएको छ, जहाँ यमनका हुथी विद्रोहीहरूले लगातार जहाजहरूमा आक्रमण गरिरहेका छन् । यसै साता रेड सीमा एउटा जहाजमा भएको आक्रमणमा छ जनाको ज्यान गएको थियो।
विज्ञहरूका अनुसार, खाडी देशहरूले होर्मुजमाथिको निर्भरता पक्कै कम गर्नेछन्, तर त्यसलाई पूर्ण रूपमा छोड्न भने सक्नेछैनन्।
क्रिस्टोल इनर्जीकी प्रमुख क्यारोल नख्ले भन्छिन्, ‘होर्मुज स्ट्रेटको फाइदा यति धेरै छ कि यसलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सकिँदैन। तर अब यसैमा मात्र भर पर्नु पनि सम्भव छैन।’
न्यूयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टको सहयोगमा