बागमती प्रदेशमा राप्रपाको समर्थन लिएर भोलि नै मुख्यमन्त्रीमा दाबी गर्ने किरणको तयारी

65 Shares

काठमाडौं । नेकपा एमालेभित्र बागमती प्रदेशमा फेरि संसदीय दलको नेता फेरेर किरण थापालाई मुख्यमन्त्री बनाउने गृहकार्य थालिएको छ ।
गत शुक्रबार पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलसहित बसेर संसदीय दलका नफेर्ने निर्णयमा पुगेका थिए । जगन्नाथ (जेएन) थपलियालाई नै मुख्यमन्त्री बनाउने नेतृत्वबीचको सहमतिअनुसार हिजोसम्म सरकार गठनको प्रक्रिया थाल्न भनिएको थियो ।
तर, बहुमत पुर्‍याउन नसकेको र सरकार गठनका लागि प्रभावकारी भूमिका नखेलेको भन्दै हिजो राति केपी ओलीले थपलियाको आलोचना गरेका थिए । उनले आजसम्मको अल्टिमेटम दिँदै जसले बहुमत पुर्‍याएर ल्याउँछ उसैलाई मुख्यमन्त्रीमा अघि सार्ने बताएका छन् ।
किरण थापालाई दलको नेता बनाउने गरी यसअघि नै १९ जना सांसदले हस्ताक्षर गरिसकेका छन् । त्यही हस्ताक्षरलाई कायम राख्दै भोलि प्रदेश प्रमुखकोमा सरकार गठनका लागि दाबी गर्ने तयारी भइरहेको एक सांसदले बताए ।
ती सांसदले भने— अब पार्टीगत बहुमत नजुट्ने देखिएपछि २५ जनामध्ये जसले बहुमत पुर्‍याउँछ त्यसलाई अघि सार्ने गरी नेतृत्वले खुल्ला छाडिसकेको छ । हिजोसम्म त जेएन कमरेडले नै पुर्‍याउन सक्नुहुन्छ कि भनेर सबैले पर्खियौँ । आफ्नो पार्टीलाई आएको अवसर त फुत्काउन पनि भएन नि ?
थापा राप्रपाबाटै आएको र उनीप्रति संसदीय दलका नेता उद्धव थापाको ग्रीन सिग्नल रहेकोले बहुमतका लागि कम्फर्टेबल रहेको स्रोतले बतायो । तर, किरण थापाले राप्रपाका केही सांसदलाई समेत गुण्डु लिएर गएको र बहुमत पुर्‍याइदिने बाचा गराएपछि कुरा भाँडिएको जेएन पक्षको बुझाइ छ ।
एमाले र नेकपाबीच भएको भागबण्डा अनुसार यहाँ एमालेले मुख्यमन्त्री पाएको छ । तर, दुई दलका सांसद संख्याले मात्र बहुमत पुग्दैन ।
१०४ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायतका ६ दल छन् । बहुमतका लागि ५३ सांसद चाहिन्छ । ३६ सीटसहित कांग्रेस पहिलो दल छ । नेकपाको २६ र एमाले २५ सांसदसहित तेस्रो स्थानमा छ । राप्रपासँग १२ सीट, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सीट रहेको छ ।
एमालेका प्रमुख सचेतक एकालाल श्रेष्ठले राप्रपा, हानेपा र नेमकिपासँग बहुमतका लागि छलफल भइरहेको बताएका छन् ।
कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृवको सरकारबाट समर्थन फिर्तासहित एमाले बाहिरिसकेको छ । तर, पनि नयाँ सरकार गठनका लागि बहुमत पुग्न नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन ।

सम्बन्धित समाचार