काठमाडौं– मंगलबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरेका छन् । तर, बैंककै मुख्य नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलको अनुपस्थितिमा भएको उक्त छलफलमा भने उनले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर छलफल गरे ।
‘बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन् ? मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ ? अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ’, उनले सिईओहरूसँग प्रश्न गरे ।
उनले बजेटमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि एउटा स्पष्ट दिशा तय गरेको भन्दै आफूहरूको ध्यान कार्यान्वयनमा भएको बताउँदै बजेट कार्यान्वयनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सुझाव सुन्न आएको बताए ।
डा वाग्लेले सरकारका तर्फबाट आफूहरू नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रिया अगाडि बढाइरहेको भन्दै के यी सुधारहरू पर्याप्त छन् ? अझ के गर्नुपर्छ भनेर प्रश्न गरेका थिए ।
‘आज नेपालको अर्थतन्त्रको मनोविज्ञान वास्तवमा कस्तो छ ? व्यवसायी किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन् ? ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन’, डा वाग्लेले सिईओहरूसमक्ष प्रश्न गरेका थिए ।
अर्थमन्त्री डा वाग्लेले आफूहरू कानुनी सुधार आवश्यक भएकोमा सुधार गर्ने, प्रक्रियागत समस्या भएकोमा बदल्ने र सरकारबाट निर्णय गर्न आवश्यक भएको ठाउँमा निर्णय लिन पछि नहट्ने बताएका थिए ।