रोमानियामा रेलको ठक्करबाट सिन्धुपाल्चोक र चितवनका नेपालीको मृत्यु

94 Shares

काठमाडौं । युरोपेली मुलुक रोमानियामा रेलको ठक्करबाट सिन्धुपाल्चोक र चितवनका दुई नेपाली युवाले ज्यान गुमाएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी(५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका(२०, बागबजारका २५ वर्षीय निश्चल तामाङ रहेका छन्।
उनीहरूको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीलाई उद्धृत गर्दै रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलले बताए।
‘मृतकहरूको पहिचान खुलेको छ। नेपालमा मृतकका परिवारलाई घटनाको बारेमा जानकारी गराइएको र दूतावास लगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको छ,’ पोखरेलले नेपालखबरसँग भने। हाल मृतकहरूको शव बाकाउस्थित स्पितालुल दे गाइनोकोलोजिकको शवगृहमा राखिएको छ। रोमानियामै रहेका शान्तकुमारका भाइ विजय श्रेष्ठ र सँगै काम गर्ने रोहित पाली बोगटीलाई प्रहरी प्रशासनले सोमबार मृतकहरूको शव हेर्न अनुमति दिएको थियो।
रेल दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमिई रेल सडक खण्डमा २ अगस्ट ९आइतबार० स्थानीय समय बिहान ३स्२१ बजे भएको हो।
रोजगारीको सिलसिलामा शान्तकुमार सन् २०२४ अक्टोबर २८ मा रोमानिया आएका हुन् भने निश्चल आएको ४ वर्ष भएको थियो। सेम डे सोलुसन कम्पनीमा आएका उनीहरू टीआरके एजेन्सीमार्फत कुरिअर वायर हाउसमा काम गर्थे।
अविवाहित निश्चल बिदामा नेपाल गएर विवाह गर्ने तयारीमा थिए। शान्तको श्रीमती, १० वर्षको छोरी र २ वर्षको छोरा छन्। शान्तकुमार भन्दा एक दिनपछि रोमानिया आएका सँगै काम गर्ने कम्पनीमा नेपाली कामदारका लिडर समेत रहेका महेन्द्रनगर, कञ्चनपुरका रोहित पाली बोगटीका अनुसार २४सै घण्टा खुल्ने प्रफिट ननस्टपमा सामान किन्न जाँदा लिक काट्ने क्रममा उनीहरूलाई रेलले ठक्कर दिएको हो।
‘चार जना सामान किन्न गएका थिए। झाडीले छेकेको अँध्यारो ठाउँबाट लिक काट्दा शान्त र निश्चलाई  रेलले ठक्कर दिएको र उनीहरूको मृत्यु भएको हो,’ बोगटीले नेपालखबरसँग भने,  ‘अरू २ जनालाई धन्न रेलको हावाको बेगले झाडीतिर हुत्याइदिएर बाँचे।’
यसरी उड्नेमा कञ्चनपुरका अनिलकुमार दमाई र डडेलधुराका महेश नाथको घाइते भए पनि ज्यान जोगिएको छ।
यस्तै, निश्चल तामाङका ठूलो बुवा डम्बरबहादुर तामाङले शव नेपाल ल्याउन आवश्यक कागजात बनाउनका लागि भोलि चितवनबाट काठमाडौँ जान लागेको टेलिफोन सम्पर्कमा बताए।
रोमानियामा कार्यक्षेत्र भएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले लगभग २ हजार किलोमिटर टाढाबाट यस्ता आपत्‌कालीन घटनाको समन्वय गर्नुपर्ने बाध्यता छ।  ५० हजार भन्दा बढी नेपाली कामदार रहेको रोमानियामा हाल नेपाल सरकारको कुनै पनि कुटनीतिक संयन्त्र छैन।

सम्बन्धित समाचार