अमेरिकामा अपराधमा दोषी ठहर र अभियोग लागेका १२४ नेपाली पक्राउ

94 Shares

काठमाडौँ । ट्रम्प प्रशासनको पहिलो १३ महिनामा अमेरिकी अध्यागमन एजेन्सी ‘आइस’ ले आपराधिक अभियोगको सामना गरिरहेका र पहिले नै अपराधमा दोषी ठहरिएका १२४ जना नेपालीलाई पक्राउ गरेको छ । डिपोर्टेसन डाटा प्रोजेक्टले संकलन र प्रशोधन गरेको आइसको तथ्याङ्कअनुसार, फेब्रुअरी २०२५ देखि फेब्रुअरी २०२६ सम्म आइसले अमेरिकामा ३८८ जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो । जसमध्ये १२४ जना अर्थात् कुल पक्राउ परेकाको करिब ३१।९ प्रतिशत मात्र आपराधिक अभियोगको सामना गरिरहेका वा पहिले नै अपराधमा दोषी ठहरिएका व्यक्तिहरू छन् ।
आइसको आन्तरिक रेकर्ड अनुसार, पक्राउ परेका १२४ मध्ये केवल ५३ जना मात्र पहिले नै अपराधमा दोषी ठहरिएका थिए भने बाँकी ७१ जना आपराधिक अभियोगको सामना गरिरहेका व्यक्तिहरू थिए । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले आइसद्वारा पक्राउ गरिएका व्यक्तिहरूमध्ये ७० प्रतिशत आपराधिक अभियोगको सामना गरिरहेका र पहिले नै अपराधमा दोषी ठहरिएकाहरू रहेको दाबी गर्दै आए तापनि वास्तविक तथ्याङ्क भने सरकारी दाबीभन्दा फरक देखिएको छ ।
पक्राउ परेका नेपालीहरूमध्ये २६४ जनामाथि अध्यागमन कानुन उल्लंघनको मात्र अभियोग लगाइएको छ । तथ्याङ्क अनुसार आइसद्वारा पक्राउ परेका ३ जना नेपालीमध्ये १ जनाभन्दा कमको मात्र पक्राउ परेको समयमा आपराधिक सजाय वा विचाराधीन मुद्दा रेकर्डमा रहेको थियो ।
यी पक्राउहरूको मासिक ढाँचामा उतारचढाव आए तापनि होमल्यान्ड सेक्युरिटीले दाबी गरेको ७० प्रतिशतको आपराधिक थ्रेसहोल्ड भने कहिल्यै छुन नसकेको देखिएको छ । सन् २०२५ मा नेपालीहरूको पक्राउ सङ्ख्या फेब्रुअरीमा २९, मार्चमा १५, अप्रिलमा सबैभन्दा कम ५, मेमा २७, जुनमा ३९, जुलाईमा २७, अगस्टमा ३५, सेप्टेम्बरमा ३५, अक्टोबरमा ३८, नोभेम्बरमा सबैभन्दा बढी ४८ र डिसेम्बरमा ४२ जना पुगेको थियो । त्यस्तै, सन् २०२६ को जनवरीमा २९ र फेब्रुअरीमा १९ जना नेपालीहरू पक्राउ परेका थिए ।
यो समूहमा पुरुषहरूको बाहुल्यता थियो, जसमा ३७० पुरुष, १७ महिला र १ जना ‘अज्ञात’ भनी सूचीबद्ध गरिएका छन् । कुल पक्राउ परेका ३८८ जनामध्ये १७४ जनालाई अन्तिम देशनिकालाको आदेश भइसकेको थियो भने १९५ जनाको अन्तिम आदेश हुन बाँकी थियो । साथै, १९ जनाको स्थिति अज्ञात थियो । ३८८ मध्ये १५६ जनालाई नेपाल फिर्ता पठाइसकिएको छ । उनीहरु सन् २०२५ को जनवरीदेखि अमेरिकाबाट डिपोर्ट भएका झण्डै ८ सय नेपालीमध्येका हुन् ।

सम्बन्धित समाचार