सामाजिक सद्‍भाव र भाइचारा कायम राख्न आईजीपी कार्कीको अनुरोध

94 Shares

काठमाडौं । पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भाव खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना भइरहेको अवस्थामा नेपाल प्रहरीले सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारालाई कायम राख्न सम्पूर्ण नेपालीमा अनुरोध गरेको छ। 
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शुक्रबार बिहान नेपाल प्रहरीको फेसबुक पेजमार्फत् भिडिओ सन्देश जारी गर्दै यस्तो आग्रह गरेका हुन्। 
उनले पूर्वी तराईका केही स्थानहरुमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधिहरु देखिनु दुःखद् भएको उल्लेख गरेका छन्। 
‘नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको सुन्दर देश हो,’ उनले भनेका छन्, ‘धर्म, भाषा, जातजाति र संस्कृतिको भिन्नताबिच पनि हामी आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ सँगै बस्दै आएका छौँ।’ 
उनले अगाडि भनेका छन्, ‘पूर्वी तराईका केही स्थानहरुमा धार्मिक सद्भावमा खलल पुग्ने र डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधिहरु देखिनु दुखद् विषय हो। सामाजिक एकतामा खलल पुग्नेगरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने र कानुनको उल्लंघन गर्ने कार्य कसैको पनि हितमा हुँदैन।’यो सम्बेदनशील समयमा अफवाह, उत्तेजना र घृणा फैलाउनेभन्दा विवेक, सम्मान र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्न सबैलाई आग्रह गरेका छन्। 
‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ,’ कार्कीले भनेका छन्, ‘तसर्थ यस सम्बेदनशील घडीमा नेपाल प्रहरी सम्यमता, सहिष्णुता र आपसी सम्मानका साथ एकअर्काको संस्कृति, संस्कार तथा आस्थाको सम्मान गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता, भाइचारालाई कायम राख्न सम्पूर्ण नेपाल दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक अपिल गर्दछ।’

सम्बन्धित समाचार