काठमाडौं । चलचित्र ‘गौँथली’ १० करोड क्लबमा प्रवेश गरेको छ । बुधबार यो चलचित्र १० करोड क्लबमा प्रवेश गरेको हो ।
साउन १ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र १० करोडको आकडा बुधबार साँझ पार गरेको निर्माण टिमले जानकारी दिएको छ । निर्माण टिमका अनुसार बुधबार साँझ ७ बजेसम्म ‘गौँथली’ले १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
१० करोडको आकडा पार गरेसँगै यो चलचित्र यस वर्षको हालसम्मको धेरै ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ ।
चलचित्रले उठाएको विषय र कलाकारको अभिनय दर्शकले मन पराइरहेका छन् । नेपाली ग्रामीण समुदायका महिलाको कथा ‘गौँथली’ले देखाएको भन्दै दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ पहिलोभन्दा दोस्रो हप्तामा उच्च अकुपेन्सीमा चलिरहेको छ । गत शनिबार ‘गौँथली’ले एकै दिन १ करोड ८० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
“हाम्रो सिनेमाले हरेक महिलाको कथा उठाएको भन्ने प्रतिक्रिया आएको छ । शिक्षाका लागि बुहारीले गरेको संघर्ष र उसको सफलता दर्शकले मन पराइदिनु भएको छ,” निर्देशक डा. कपिल रिजालले भने, “हामीले शिक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो र यसका लागि महिला स्वयंले फाइट गर्नुपर्छ भन्ने देखाएको थियौँ, त्यही नै दर्शकले मन पराइरहनु भएको छ ।”
अहिले पनि अधिकांश शोमा दर्शकको उत्तिकै साथ र सहयोग रहको उनले बताएका छन् । अधिकांश शोमा उच्च अकुपेन्सी रहेको उनको भनाइ छ ।
उच्च अकुपेन्सी र धेरै शोसहित चलिरहेकाले ‘गौँथली’ले अझै ठूलो परिमाणमा ग्रसकलेक्सन गर्नेमा निर्माण टिम ढुक्क छ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा। कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।