३२ औँ “प्रकाश मानव अधिकार पुरस्कार” रुद्रबहादुर खड्कालाई

152 Shares

काठमाडौं । इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको “प्रकाश मानव अधिकार पुरस्कार” यस वर्ष शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रुद्रबहादुर खड्कालाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ ।

पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरिएअनुसार प्राप्त ४८ जनाको नाममध्येबाट शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील खड्कालाई छनोट गरिएको इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा। लिली थापा र अधिकारकर्मी दुर्गा सोव सदस्य हुनुहुन्थ्यो ।
सिन्धुली जिल्ला कमलामाई नगरपालिका–९, भीमान निवासी खड्का मानव अधिकार उल्लङ्घन, अन्याय, विभेद, दण्डहीनता तथा सामाजिक बहिष्करणका घटनालाई निरन्तर रुपमा उजागर गर्दै पीडित तथा सीमान्तकृत समुदायको आवाजलाई सार्वजनिक सरोकारको विषय बनाउनु साथै शारीरिक असक्तताका बाबजुद पनि अदम्य साहस, अटल प्रतिबद्धता र अथक सक्रियताका साथ मानव अधिकार, सामाजिक न्याय र मानवीय मर्यादाको पक्षमा निरन्तर उभिनुभएको छ।
आगामी साउन १६ गते काठमाडौँमा आयोजना हुने ३४ औँ प्रकाश स्मृति दिवसको अवसरमा पुरस्कृत व्यक्तित्व खड्कालाई नगद ५० हजार,  सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार