काठमाण्डौ - सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बसिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बैठक आह्वान गर्नुभएको हो ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, जनमतका पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रास्वपाका उपनेता गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुम्बु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायत सहभागी हुनुहुन्छ ।
देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो । यो घटनापछि सुनसरी अशान्त बनेको छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलका नेताहरूले अपील गरेका छन् ।