क्यापिटल सहकारीको नेतृत्वको कारण श्रेष्ठद्वारा आत्मदाह !

2k Shares

काठमाडौं । क्षेत्रपाटीमा रहेको क्यापिटल सेभिङ एण्ड क्रेडिटको अपरेटिभ लिमिटेडका अध्यक्ष रामचन्द्र शर्मा उपाध्यक्ष योगेश्वर सापकोटा, ऋण अधिकृत लोकेन्द्र दाहाल र लेखा संयोजक किरण पौडेल तथा उनीहरूले भगाएर राखेका व्यवस्थापक दिनेश पौडेलको मिलेमतोमा गरिएको घोटालाको पीडा थेग्न नसकेर सञ्चालक सुरेस चन्द्र श्रेष्ठले गत मंगलबार आफैँले चलाएको कारमा आगो लगाएर आत्महत्या गरेको शंका उब्जिएको छ ।
श्रेष्ठ गत मंगलबार कीर्तिपुरको टयाङ्लाफाँटस्थित चाँदनी चोकमा साइड लगाइएको गाडीमा भएको आगजनीमा मृत भेटिएका थिए । गाडीमा जलेर मृत भेटिएका श्रेष्ठ नरदेवीमा जन्मिएका, क्षेत्रपाटीमा हुर्किएका र टयाङ्लाफाँटमा बस्दै आएका थिए । जलेको अवस्थामा मृत भेटिएका ७० वर्षीय श्रेष्ठ क्षेत्रपाटीमा रहेको क्यापिटल सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालक हुन् ।
उक्त सहकारीका अध्यक्ष रामचन्द्र शर्मा, सचिव अच्यूत राज बुढाथोकी, कोषध्यक्ष अशोक पाण्डेलगायतका व्यक्ति सहकारी ठगेर अहिले पनि फरार रहेका छन् । तर उनीहरूले ठगेर खाए पनि सुरेश चन्द्र श्रेष्ठ गत चैत्र १५ गते पक्राउ गरेका थिए र वैशाख ११ गते ३० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । सहकारीका अध्यक्ष शर्मा, उपाध्यक्ष युगेश्वरराज सापकोटा, २०७८ सालदेखि भगाइएका व्यवस्थापक दिनेश पौडेल, कर्जा प्रमुख लोकेन्द्र दाहाल, लेखा प्रमुख किरणराज पौडेल, कोषाध्यक्ष अशोक पाण्डे, सचिव अच्यूतराज बुढाथोकीको टिमले सहकारीमा ठगी र कर्जा अपचलन मात्र गरेको नभई विभिन्न व्यक्तिको नाममा नक्कली कर्जा खाता खडा गरेर किर्ते धन्दा समेत गर्दै आएको छ र उनीहरूले गरेको त्यही धन्दाको बोझ र पीडा खेप्न नसकेर सञ्चालक श्रेष्ठले आत्मदाह गरेको हुनसक्ने सम्भावना रहेको छ ।
तर यस विषयमा छानबिन गरिरहेको प्रहरी प्रशासनले मुख नखोलेकोले घटनाक्रम कता मोडिन्छ भनेर यसै भन्न सकिने अवस्था रहेको छैन । प्रहरी प्रशासनकै सरक्षणमा क्यापिटल सहकारीमा अनियममितता गर्ने व्यक्तिहरूले उन्मुक्ति पाउँदै आएको पीडितहरूको आरोप छ । राइडर गणेश नेपालीले महानगर प्रहरीको अत्याचार खप्न नसकेर आत्मदाह गरेको केही दिनपछि क्यापिटल सहकारीका सञ्चालक श्रेष्ठले सहकारीको आफ्नै नेतृत्वले दिएको पीडा र बेइज्जती खप्न नसकेर आत्मदाह गरेका हुन् ।

सम्बन्धित समाचार