राति खुल्ने ‘तस्करी करिडोर’, बुडन्तवापुर नाकादेखि त्रिवेणीसम्म अवैध कारोबारको सञ्जाल

906 Shares

नवलपरासी । पश्चिम नवलपरासीको सीमावर्ती बुडन्तवापुर , महेशपुर नाका पछिल्लो समय रातिको समयमा सक्रिय हुने तस्करी मार्गका रूपमा चर्चामा आउन थालेको छ। स्थानीय स्रोतका अनुसार दिनभरि सुनसान देखिने यो नाकाबाट राति परेपछि बिउबिजन, कफी, चप्पल, कपडा लगायतका विभिन्न सामग्री पिकअप भ्यान र मोटरसाइकलमार्फत नेपाल भित्र्याउने गतिविधि बढेको आरोप छ।
स्थानीय व्यापारीहरूका अनुसार सीमावर्ती क्षेत्रमा हुने यस्तो अवैध कारोबारलाई सहज बनाइदिने भन्दै केही प्रहरीसँग सम्बन्धित घुमुवाले रकम उठाउने गरेको आरोपसमेत उठेको छ। उनीहरूले बेचु, महेन्द्र, गोरख, छोटु, संजय, मिनु र अशोक नामका व्यक्तिहरूले ‘लाइन मिलाइदिने’ भन्दै व्यापारीहरूबाट रकम लिने गरेको दाबी गरेका छन्। यद्यपि, यी आरोपहरूको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ र सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।यसैबीच, केही दिनअघि पूर्वी नवलपरासीको विनयी त्रिवेणी–७ मा स्थानीय बासिन्दा र जनप्रतिनिधिले शंकास्पद अवस्थामा पाँच वटा पिकअप भ्यान नियन्त्रणमा लिएर त्रिवेणी भन्सार कार्यालयमा बुझाएको घटनाले सीमावर्ती तस्करीको विषयलाई थप चर्चामा ल्याएको छ।
भन्सार कार्यालयका अनुसार असार २५ गते राति करिब १० बजे गाउँमा एकपछि अर्को गर्दै पाँच वटा पिकअप प्रवेश गरेको सूचना पाएपछि स्थानीयवासी र जनप्रतिनिधिहरूले ती सवारी नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिइएका पिकअपहरू लु १ ज ३१५८, लु १ च ९०२२, लु १ ज ४३८८, लु १ ज ४४७९ लगायत रहेका छन्।प्रारम्भिक जानकारीअनुसार ती सवारीमा लसुन र मिलन सिड ९बिउबिजन० लोड गरिएको थियो। ती सामग्री पश्चिम नवलपरासीबाट पूर्वी नवलपरासीको विनयी त्रिवेणी–७ स्थित गोदाममा ल्याइएको दाबी गरिए पनि त्यसको वास्तविक उद्देश्य र वैधानिकतामाथि अनुसन्धान भइरहेको भन्सार स्रोतले जनाएको छ।
स्थानीय स्तरमा भने नियन्त्रणमा परेका केही पिकअपमा रहेको सामान तस्करी समूहसँग सम्बन्धित रहेको दाबी गरिएको छ। प्रहरी स्रोतलाई उद्धृत गर्दै केही स्थानीयले तीमध्ये पाँचवटै पिकअप गोरख नामका व्यक्तिसँग सम्बन्धित रहेको आरोप लगाएका छन्। यद्यपि यसबारे प्रहरीले औपचारिक पुष्टि गरेको छैन।भन्सार कार्यालयका अनुसार प्रारम्भिक जाँचमा सामानसँग सम्बन्धित भ्याट बिल र अनलाइन बिल भेटिए पनि बिल हुनु मात्र पर्याप्त आधार नहुने बताइएको छ। सामान कहाँबाट ल्याइयो, किन सीमावर्ती क्षेत्रमा गोदाम राखियो, अन्तिम गन्तव्य कहाँ हो तथा आयात–ढुवानी प्रक्रिया कानुनसम्मत थियो वा थिएन भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार विनयी त्रिवेणी–६ मा सम्बन्धित फर्म दर्ता रहेको र वडा नं. ७ मा गोदाम पनि दर्ता भएकाले त्यहाँसम्म सामान लैजान कानुनी व्यवस्था हुन सक्छ। तर, कागजातको दुरुपयोग गरी तस्करी भएको हो वा नियमित व्यापार हो भन्ने निष्कर्ष अनुसन्धानपछि मात्र निकालिने जनाइएको छ। यदि गैरकानुनी कारोबार पुष्टि भए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने भन्सारको भनाइ छ।
सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा पोस्ट (बीओपी) रहे पनि स्थानीयवासी आफैं सक्रिय भएर शंकास्पद सवारी नियन्त्रणमा लिनु सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाउने विषय बनेको छ। सुरक्षा निकायको नियमित निगरानी हुँदाहुँदै स्थानीयले अवैध सामग्री बोकेको आशंकामा सवारी नियन्त्रण गर्नुपरेको अवस्थाले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण प्रणालीको कमजोरी औँल्याएको जानकारहरूको भनाइ छ।स्थानीयहरूका अनुसार तस्करी समूहहरूले पश्चिम र पूर्वी नवलपरासीका विभिन्न नाकालाई पालैपालो प्रयोग गर्ने रणनीति अपनाउने गरेका छन्। एक क्षेत्रमा निगरानी बढे अर्को नाका प्रयोग गर्ने शैलीले सुरक्षा निकायलाई चुनौती थपिएको उनीहरूको दाबी छ।
सीमावर्ती क्षेत्र हुँदै हुने यस्ता गतिविधिले राज्यको राजस्वमा प्रत्यक्ष असर पर्ने मात्र होइन, वैध व्यवसाय गर्ने व्यापारी पनि अस्वस्थ प्रतिस्पर्धाको मारमा पर्ने गरेका छन्। त्यसैले बुडन्तवापुर, महेशपुर, त्रिवेणी लगायतका संवेदनशील नाकामा संयुक्त सुरक्षा निगरानी, डिजिटल ट्र्याकिङ, नियमित गस्ती र तस्करीसँग जोडिएका आरोपहरूको निष्पक्ष छानबिन आवश्यक देखिएको छ।पाँच पिकअप नियन्त्रणमा परेको घटनाले सीमावर्ती क्षेत्रमा लामो समयदेखि उठ्दै आएका तस्करीका आशंकालाई फेरि सतहमा ल्याएको छ। अब अनुसन्धानले यी सामग्री नियमित व्यापारका थिए वा संगठित तस्करी सञ्जालसँग सम्बन्धित थिए भन्ने तथ्य स्पष्ट पार्ने अपेक्षा गरिएको छ। साथै, ‘लाइन’का नाममा रकम असुली गरिएको भनिएका आरोपहरूको पनि सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयस्तरबाट उठ्न थालेको छ।

सम्बन्धित समाचार