आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४८औँ स्मृति दिवस

732 Shares

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट दल तथा सङ्गठनहरूले स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा अन्य कार्यक्रम आयोजना गरेका छन्।

वि.सं. १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र माता तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा रहँदै नेपाल कम्युनिस्ट आन्दोलनलाई संगठित र विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठका भाइ पनि हुनुहुन्छ।

पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट मेनिफेस्टो पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। साथै, विभिन्न पुस्तक, लेख तथा वैचारिक दस्तावेजमार्फत नेपाली समाजको वर्गीय विश्लेषण प्रस्तुत गर्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गर्नुभएको थियो।

वि.सं. २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो। त्यसअघि वि.सं. १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर उहाँले नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नुभएको थियो।

पुष्पलालले नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसँग सहकार्य गर्दै संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्थाको अन्त्य गर्नुपर्ने धारणा अघि सार्नुभएको थियो।

वि.सं. २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा उहाँको निधन भएको थियो।स्मृति दिवसका अवसरमा आज नेकपा (एमाले)को काठमाण्डौ उपत्यका विशेष प्रदेश कमिटीले विशेष कार्यक्रम आयोजना गरेको छ। यसै गरी नेपाल कम्युनिस्ट पार्टीलगायत अन्य कम्युनिस्ट दल तथा सङ्गठनहरूले पनि देशका विभिन्न स्थानमा श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम आयोजना गरेका छन्।

सम्बन्धित समाचार