पोखराका क्यासिनोमा खुलेयाम नेपाली प्रवेश !,  प्रहरी मौन, सूचना चुहाएर ‘छापा नाटक’ ?

384 Shares

पोखरा । पर्यटनको राजधानीका रूपमा परिचित पोखरामा सञ्चालित दुई क्यासिनोमा नेपाली नागरिकको खुलेआम प्रवेश भइरहेको आरोप फेरि एकपटक चर्चामा आएको छ। कानुनले नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न प्रतिबन्ध लगाएको भए पनि व्यवहारमा भने त्यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो स्थानीयवासी र सरोकारवालाले गर्दै आएका छन्।
हाल पोखरामा सञ्चालनमा रहेका दुई क्यासिनो—गौरीघाटस्थित होटल माउन्ट कैलाशमा सञ्चालित क्यासिनो र हल्लनचोकस्थित महाराजा होटलमा सञ्चालित क्यासिनो—मा नेपालीहरूको नियमित प्रवेश हुने गरेको दाबी गरिएको छ। यसबारे पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराइए पनि प्रभावकारी अनुगमन, छापा वा कानुनी कारबाही हुन नसकेको आरोप उठिरहेको छ।स्थानीय स्रोतहरूका अनुसार जुवाको लतमा फसेका धेरै व्यक्तिले घर, जग्गा तथा सम्पत्ति बेच्न बाध्य भएको, कतिपय परिवार आर्थिक रूपमा टाट पल्टिएको र पारिवारिक विखण्डनसम्मको अवस्था सिर्जना भएको उदाहरणहरू भेटिन्छन्। यस्ता घटनाले क्यासिनो व्यवस्थापनमाथि मात्र होइन, नियमन गर्ने निकायमाथि पनि गम्भीर प्रश्न उठाएको छ।
सबैभन्दा गम्भीर आरोप प्रहरीको अनुगमन प्रक्रियामाथि लागेको छ। सरोकारवालाहरूका अनुसार क्यासिनोमा नेपाली प्रवेश भइरहेको सूचना प्रहरीलाई दिँदा तत्काल छापा मार्ने वा नियन्त्रणमा लिने काम हुँदैन। तर सञ्चारमाध्यममा समाचार आउने संकेत पाएपछि भने छापामार शैलीको गतिविधि देखाइने गरेको आरोप छ।आरोपअनुसार छापा अघि नै क्यासिनो सञ्चालकलाई फोनमार्फत जानकारी गराइने, नेपाली नागरिकलाई तत्काल बाहिर निकाल्न भनिने र त्यसपछि केही सञ्चारकर्मीलाई साथमा लिएर क्यासिनो पुगेर “नेपाली भेटिएनन्“ भन्ने सन्देश सार्वजनिक गरिने अभ्यास दोहोरिने गरेको दाबी छ। यदि यस्ता आरोप सत्य हुन् भने यसले कानुन कार्यान्वयन प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गर्छ।
केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद उत्तम पौडेलले पोखराका क्यासिनोमा नेपाली प्रवेश भइरहेको जानकारी पाएपछि प्रहरी प्रशासनलाई तत्काल रोक्न निर्देशन दिएका थिए। त्यसपछि केही दिन नेपाली प्रवेश रोकिएको बताइए पनि अहिले पुनः पुरानै अवस्था फर्किएको स्थानीयको दाबी छ।यी दुवै क्यासिनो बैदाम प्रहरी कार्यालयको कार्यक्षेत्रभित्र पर्दछन्। त्यसैले प्रारम्भिक निगरानी र कानुन कार्यान्वयनको जिम्मेवारी स्थानीय प्रहरीमाथि नै रहने देखिन्छ। यदि स्थानीय स्तरबाट प्रभावकारी कारबाही हुन नसकेको हो भने जिल्ला प्रहरी कार्यालय कास्कीले स्वतन्त्र रूपमा छड्के अनुगमन र छापा सञ्चालन गर्न सक्ने अधिकार राख्छ।
त्यति मात्र होइन, गण्डकी प्रदेश प्रहरी कार्यालयले समेत आवश्यक निर्देशन, अनुगमन तथा विशेष अपरेशन सञ्चालन गर्न सक्ने अवस्था हुँदाहुँदै पनि यस विषयमा उल्लेखनीय सक्रियता नदेखिएको आरोप उठिरहेको छ। प्रदेश प्रहरी नेतृत्वले समेत प्रभावकारी कदम चाल्न नसक्दा नियमन प्रणालीमाथि थप प्रश्न उब्जिएको छ।क्यासिनो सञ्चालन आफैंमा गैरकानुनी होइन। नेपालमा विदेशी पर्यटकलाई लक्षित गरी क्यासिनो सञ्चालन गर्ने व्यवस्था छ। तर नेपाली नागरिकलाई प्रवेश गराउनु कानुनी रूपमा प्रतिबन्धित विषय हो। त्यसैले यदि नेपाली नागरिकलाई नियमित रूपमा प्रवेश गराइएको छ भने त्यसको अनुसन्धान, प्रमाण सङ्कलन र कानुनी कारबाही राज्यका निकायको दायित्व हो।
यस विषयमा सबैभन्दा आवश्यक कुरा निष्पक्ष अनुसन्धान हो। आरोपमात्रका आधारमा कुनै व्यक्ति वा संस्थालाई दोषी ठहर गर्न मिल्दैन। तर बारम्बार एउटै प्रकृतिका गुनासा दोहोरिनु, केही समय रोकिएर फेरि उही गतिविधि सुरु भएको दाबी आउनु र नियमन निकायमाथि समेत प्रश्न उठिरहनुले स्वतन्त्र छानबिनको आवश्यकता भने स्पष्ट देखाउँछ।अब प्रश्न उठेको छ—यदि स्थानीय प्रहरी, जिल्ला प्रहरी र प्रदेश प्रहरीबाट प्रभावकारी अनुगमन हुन सकेको छैन भने के संघीय गृह प्रशासनले प्रत्यक्ष हस्तक्षेप गर्ने बेला आएको हो ? गृहमन्त्री स्वयंले छड्के अनुगमन गर्ने वा केन्द्रीय टोली परिचालन गरेर वास्तविक अवस्था सार्वजनिक गर्ने अपेक्षा पनि सरोकारवालाबाट व्यक्त हुन थालेको छ।
पोखरा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य मात्र होइन, कानुनको शासनको परीक्षण हुने शहर पनि हो। यदि कानुन सबैका लागि समान रूपमा लागू हुन्छ भने नेपाली नागरिकको क्यासिनो प्रवेशबारे उठेका आरोपको निष्पक्ष छानबिन, तथ्य सार्वजनिक गर्ने र दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी सम्बन्धित निकायले निर्वाह गर्नुपर्ने देखिन्छ। त्यसो हुन सकेमा मात्र राज्यप्रतिको जनविश्वास मजबुत हुनेछ; अन्यथा “सूचना चुहाएर छापा“ भन्ने आरोपले अझै गहिरो अविश्वास जन्माइरहनेछ।

सम्बन्धित समाचार