विश्व। फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेल हुन केही दिन मात्रै बाँकी रहँदा अमेरिकाको न्यूयोर्क र न्युजर्सी क्षेत्रमा वायु गुणस्तरसम्बन्धी स्वास्थ्य चेतावनी जारी गरिएको छ । क्यानडामा फैलिएको भीषण डढेलोबाट आएको धुवाँ पूर्वी अमेरिकासम्म पुगेपछि न्यूयोर्क महानगर क्षेत्र धुम्मिएको हो ।
विश्वकपको फाइनल खेल आउँदो सोमवार बिहान पौने १ बजे न्युजर्सी राज्यको इस्ट रदरफोर्डमा रहेको न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुनेछ । विश्वकपका सात खेल यसअघि पनि यही रंगशालामा सम्पन्न भइसकेका छन् भने अब यही मैदानले विश्व फुटबलको नयाँ च्याम्पियनको टुंगो लगाउनेछ ।
सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै फाइनल पुगेको स्पेन अस्ति बुधवार राति नै न्युजर्सी पुगेको थियो । टोलीले हिजो खुला मैदानमै प्रशिक्षण गरेको छ । बीबीसीका अनुसार स्पेनले अहिलेसम्म वायु प्रदूषणलाई लिएर कुनै चिन्ता व्यक्त गरेको छैन र टोलीले आफ्नो तयारी नियमित रूपमा अघि बढाइरहेको छ ।
इंग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाले आजदेखि न्यु जर्सीमा प्रशिक्षण शुरु गर्ने तयारी गरेको छ । आयोजक पक्षले पनि टोलीहरूको अभ्यास तालिका वा खेल व्यवस्थापनमा कुनै परिवर्तन गरिएको जानकारी दिएको छैन ।
फाइनलअघि हुने उद्घाटन तथा समापन समारोहको अभ्यासमा सहभागी एक कलाकारले भने धुवाँका कारण लामो समय नृत्य गर्न कठिन भएको अनुभव सुनाएको खबरमा उल्लेख छ । उहाँका अनुसार लामो समय अभ्यास गर्न असहज बनेको छ ।
यद्यपि स्थानीय अधिकारीहरूका अनुसार अहिलेको अवस्था सन् २०२३ मा क्यानडाको डढेलोपछि न्यूयोर्कको आकाश पूरै सुन्तला रङमा परिणत भएको अवस्थाजत्तिको गम्भीर भने छैन ।
मौसमविद्हरूले आजदेखि वायुको गुणस्तर क्रमशः सुधार हुन शुरु गर्ने र भोलि वर्षा हुने सम्भावना रहेकाले डढेलोको धुवाँ हट्दै जाने अपेक्षा गरेका छन् । फिफा र स्थानीय प्रशासनले ८० हजारभन्दा बढी दर्शक फाइनल हेर्न रंगशालामा उपस्थित हुने अपेक्षा गरेका छन् ।
हालसम्म वायु प्रदूषणका कारण खेल स्थगित गर्ने वा स्थान परिवर्तन गर्ने कुनै योजना वा संकेत सार्वजनिक गरिएको छैन । आयोजकले अवस्था निरन्तर निगरानीमा राखिएको र आवश्यक परे स्वास्थ्यसम्बन्धी अतिरिक्त सावधानी अपनाइने जनाएको छ ।