काठमाडौं । निर्माण सामग्री ढुवानीका क्रममा व्यवसायीहरूले लामो समयदेखि झेल्दै आएका व्यवहारिक समस्याको समाधान खोज्ने उद्देश्यले ट्राफिक र जनप्रतिनिधिहरुसँग ठूलो भ¥याङस्थित स्टार बैंक्वेटमा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

असार २९ गते सोमबार नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंले राखेको सो कार्यक्रममा जनप्रतिनिधि माननीय सांसद गणेश पराजुली, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश प्रसाद काफ्ले, सवारी अपराध अनुसन्धान तथा प्रशासन शाखाका डीएसपी सुनिल जंग शाहलगायत ट्राफिक प्रहरीका अधिकारीहरू, स्थानीय जनप्रतिनिधि तथा नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका पदाधिकारीहरूबीच ठूलो भ¥याङस्थित स्टार बैंक्वेटमा विशेष छलफल कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका संरक्षक सुरज राम वैद्य, अध्यक्ष बिनोद राज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष तथा डण्डी–सिमेन्ट संयोजक बिकाश बज्राचार्य, महासचिव शिव कार्कीलगायत संघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न निर्माण सामग्री व्यवसायी तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

छलफलका क्रममा व्यवसायीहरूले विशेषगरी डण्डी, पाइप, एङ्गल, स्टिल तथा अन्य लामो निर्माण सामग्री सुरक्षित रूपमा ढुवानी गर्दा समेत व्यवहारिक कठिनाइ भोग्नुपरेको विषय उठाएका थिए । व्यवसायीहरूको भनाइअनुसार ५,००० केजी भारवहन क्षमता भएका सवारी साधनमा तोकिएको भार क्षमताभित्र केवल ३ मुठा (करिब ३,००० केजी) डण्डी वा कतिपय अवस्थामा ५ मुठासम्म सामग्री ढुवानी गर्दा पनि ढालाभन्दा केही भाग बाहिर देखिएको आधारमा चालानी तथा जरिवाना हुने गरेको गुनासो राखेका थिए ।

संरक्षक सुरज राम वैद्यले निर्माण सामग्री व्यवसाय अटोमोबाइल क्षेत्रपछि राज्यलाई उल्लेखनीय राजस्व योगदान गर्ने क्षेत्रमध्ये एक भएको उल्लेख गर्दै, व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट करोडौं रुपैयाँ ऋण लिएर हजारौं नागरिकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आएको बताएका थिए । सो कार्यक्रममा बैद्यले भने, ‘निर्माण सामग्री ढुवानीका लागि स्पष्ट समयसीमा तथा व्यवहारिक मापदण्ड नहुँदा व्यवसायीहरू निराश बन्दै गएको र कतिपय व्यवसायी चरम आर्थिक तथा मानसिक दबाबका कारण आत्महत्यासम्म गर्न बाध्य भएको दुःखद अवस्थाप्रति समेत उनले ध्यानाकर्षण गराएका थिए । निर्माण सामग्री ढुवानीका विषयमा स्पष्ट, व्यवहारिक र दीर्घकालीन नीति आवश्यक रहेको’ धारणा राखेका थिए ।

अध्यक्ष बिनोद राज श्रेष्ठले व्यवसायीहरूले पनि ढुवानी गर्दा सुरक्षा मापदण्ड, ट्राफिक नियम तथा आवश्यक सावधानीको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका थिए । साथै, ट्राफिक प्रहरी तथा सम्बन्धित निकायले कानुनी व्यवस्थासँगै निर्माण सामग्री ढुवानीको व्यवहारिक पक्षलाई पनि बुझेर समान र व्यवहारिक रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनले बताएका थिए ।
उपाध्यक्ष तथा डण्डी–सिमेन्ट संयोजक बिकाश बज्राचार्यले व्यवसायीहरूको तर्फबाट आफ्नो धारणा राख्दै निर्माण सामग्री व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट करोडौं रुपैयाँ ऋण लिएर हजारौं श्रमिकलाई रोजगारी सिर्जना गर्दै राष्ट्रको विकास निर्माणमा महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरेका थिए । यस्ता व्यवहारिक समस्याका कारण व्यवसायी, चालक तथा श्रमिकहरू निरन्तर मानसिक तनावमा रहनुपरेको र यसले निर्माण सामग्रीको आपूर्तिमा समेत प्रत्यक्ष असर पारेको उल्लेख गरेका थिए ।

माननीय सांसद गणेश पराजुलीले व्यवसायीहरूको समस्या गम्भीरतापूर्वक सुनेपछि व्यवसायी र सम्बन्धित निकायबीच थप समन्वयात्मक छलफल गरी व्यवहारिक समाधान खोज्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाई आग्रह गरेका थिए । उनले राज्यले कानुन कार्यान्वयनसँगै व्यवसायीहरूको वास्तविक अवस्था, हजारौं श्रमिकको रोजगारी तथा उनीहरूको परिवारको जीविकोपार्जनलाई समेत ध्यानमा राखी वैज्ञानिक र व्यवहारिक समाधान निकाल्नुपर्ने धारणा व्यक्त गरेका थिए । साथै, यस विषयमा निरन्तर समन्वय र आवश्यक फलोअप गर्ने प्रतिबद्धता माननीय पराजुलीले गरेका थिए ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपीले पनि व्यवसायीहरूको समस्या समाधानतर्फ सकारात्मक धारणा राख्दै हालका लागि राति ९ः०० बजेदेखि बिहानसम्म निर्माण सामग्री ढुवानीलाई प्राथमिकता दिने तथा दिवाकालीन व्यवस्थापनका विषयमा सम्बन्धित निकायहरूसँग थप छलफल गरी आवश्यक निर्णय लिने जानकारी गराएका थिए ।

उनले व्यवसायीहरूलाई पनि आफ्नो दायित्व निर्वाह गर्न आग्रह गर्दै डण्डी, पाइपजस्ता सामग्री ढुवानी गर्दा चालकको पछाडिको दृश्य अवरुद्ध नहुने व्यवस्था मिलाउन, सामग्री सुरक्षित रूपमा बाँध्न तथा चालकहरूलाई तीव्र गतिमा सवारी नचलाउन आवश्यक निर्देशन दिनुपर्ने विषयमा विशेष जोड दिएका थिए ।
कार्यक्रममा उपस्थित व्यवसायीहरूले कानुनको सम्मान गर्दै सुरक्षित, व्यवस्थित र व्यवहारिक ढुवानी प्रणाली निर्माणका लागि नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौं र सम्बन्धित सरकारी निकायसँग निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।